गैँडाकोटका सुनौलो हजार दिनका आमाहरूलाई पोषिलो खाद्यान्न वितरण

भूमिलाल पौडेल, गैंडाकोट, १६ जेठ ।
गैंडाकोट नगरपालिकाले नगरका १८ वटै वडाहरूमा बहुउद्देश्य पोषण योजना अन्तरगत १९० घरधुरीलाई पोषिलो खाद्यान्न वितरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले वहुउद्देश्यिय पोषण योजना अन्तरगत स्थानिय सुशासन शिर्षकमा नगरका सबै वडाका अति विपन्न रेखामुनी रहेका सुनौलो हजार दिनका आमाहरूलाई आईतवार वडा – वडामा गएर पोषिलो खाद्यान्नको झोला वितरण गरेको हो । नगरका पहाडी भागमा रहेका वडा न. ३ र १८ भने सोमवार पछि वितरण गरिने नगपालिकाले जनाएको छ ।
नगरपालिकाले सुत्केरी भएको १ हजार दिन भित्रका आमाहरूलाई वडामै गएर पोषिलो खाद्यान्नको झोला वितरण गरेको हो । पोषिलो खाध्यान्हको झोलामा २० केजी जिरा मसिनो चामल, ५ केजी गहुँको पिठो, एउटा सावुन एवं एक – एक केजी भटमास, दाल, सनफ्लावर तेल र नुन समावेश छन् । पोषिलो खाद्यान्नको झोला वितरण कार्यक्रम नगरको वडा नं ४ बाट सुरु भएको थियो ।
नगर प्रमुख छत्रराज पौडेलले आगामी दिनमा वहुउद्देश्यिय पोषण योजना अन्तरगत स्थानिय सुशासन शिर्षकमा वृक्षारोपण गरिने, हजारदिनका आमाहरुलाई अण्डा वितरण गरिने र तरकारी तथा फलफुलका बिउ एवं विरुवाहरु पनि वितरण गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
नगरपालिकाले तीनवर्ष अघिदेखि सुरु गरेको यो योजनाको उद्देश्य नगरका सवै नागरिकहरुलाई पोषण मैत्री बनाउने रहेको नगरपालिकाका पोषण सहजकर्ता गोपीकृष्ण भुसालले बताउनुभयो । उहाँले प्रत्येक वडाका १० जना अतिविपन्न आमाहरुलाई पोषिलो खाद्यान्नको झोला वितरण गर्न लागिएको जानकारी दिनुभयो । भुसालका अनुसार यो योजनाका लागि केन्द्रीय सरकारका तर्फबाट गैंडाकोट नगरपालिकाका लागि २४ लाख ८६ हजार बिनियोजन भएको छ । सम्वन्धित वडाका जनप्रतिनिधिहरुको सहयोगमा अति विपन्न रेखामुनी रहेका सुनौलो हजार दिनका आमाहरूको पहिचान गरिएको सहजकर्ता भूसालले बताउनु भयो ।
पोषण खाध्यन्ह वितरण कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेल, प्रमुख प्रशासकिय अधिकृत यामप्रसाद सुवेदी, प्रशासकिय अधिकृत लिलाधर शर्मा, कार्यपालिका सदस्य संगीता पंडित घिमिरे, पोषण सहजकर्ताहरु गोपीकृष्ण भुसाल र ललिता गिरी शर्मा लगायतको सहभागिता थियो ।
तपाइँको प्रतिक्रिया