गैँडाकोटका ३३ जना अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामग्रीहरू वितरण

भुमिलाल पौडेल, २१ असार ।
गैंडाकोट नगरपालिका अपाङ्गता परिचयपत्र समितिले नगरमा अपाङ्गता भएका ३३ जना व्यक्तिहरुका लागि सहायता सामग्रीहरू वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सोमबार एक समारोहको आयोजना गरि नगरका १८ वटै वडामा वसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई उपयोग हुने सहायता सामग्रीहरु वितरण गरेको हो । वितरण गरिएका सामग्रिहरूमा व्हिल चियर, लुगा सिलाउने मेसिन, कम्यूटर, स्लिपिङ वेड, एडल्ट डाइपर, कम्बर बेल्ट, ग्यास सिलिन्डर सहित ग्यास चुल्हो, हारमोनियम, बैशाखी, कम्बोट सिट र व्हाईट स्टीक लगायतका सामग्रीहरु रहेका छन् । यस अघि प्रत्येक वडामा गएर गैंडाकोट नगरपालिका अपाङ्गता परिचयपत्र समितिले आवश्यकताका आधारमा लागत संकलन गरि उनिहरुलाई आवश्यक पर्ने सामग्रीहरुको पहिचान गरेको जनाएको छ । नगरका तीनजना असहाय विरामीहरुलाई औषधी खरिद गर्नका लागि भन्दै नगर पालिकाको अपाङ्गता परिचयपत्र समितिले नगद समेत वितरण गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख छत्रराज पौडेलले अपांगता भएका व्यक्तिहरुमा अपार बौद्धिक क्षमता पनि हुने भएकाले सवलाङ्ग भएका ब्यक्तिहरु जस्तै अपांगता भएका व्यक्तिहरु पनि क्षमतावान रहेको बताउनुभयो । उहाँले केहि गर्न चाहने नगरका अपांगता भएका व्यक्तिहरुलाई यथासक्य सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको तर्फबाट विष्णु लम्साल र वडाअध्यक्षहरुका तर्फबाट वडा नं ७ का वडा अध्यक्ष चोलाकान्त उपाध्यायले पनि आ–आफ्नो भनाईहरु राख्नु भएको थियो । गैंडाकोट नगरपालिकाको अपाङ्गता परिचयपत्र समितिका सदस्य सचिव देवेन्द्र गौतमले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको संचालन नगरपालिकाकी महिला विकास निरिक्षक सीता कुमारी लामीछाने पौडेलले गर्नुभएको थियो । कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम गैंडाकोट नगरपालिकाकी उप प्रमुख विष्णु कुमारी कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया