गैँडाकोटको १० वडामा माओवादी केन्द्रको वडा कमिटी सर्वसम्मत चयन, ३ वडामा चयन हुँदै

गैँडाकोट, ५ मंसिर । गैँडाकोट नगरपालिकाको १० वटा वडामा नेकपा (माओवादी केन्द्र) ले वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन गरेको छ । माओवादी केन्द्र नगरकमिटी अध्यक्ष युवराज रिमालले शनिबारदेखि सुरु भएको वडा अधिवेशन अन्तर्गत हालसम्म गैँडाकोटका १० वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको जानकारी दिनुभयो ।
निर्वाचन प्रक्रिया सुरु भएका गैँडाकोट १३, १४ र १५ नम्बर गरि तीन ओटा वडामा सर्वसम्मत बनाउन छलफल जारी रहेको अध्यक्ष रिमालको भनाई छ ।
वडामा पाँच पदाधिकारी सहित २९ सदस्यीय कमिटी चयन गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव सहित २९ सदस्यीय कमिटी चयन गर्ने क्रम जारी रहेको पार्टीका नगर ईन्चार्ज धनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
तयारी नपुगेका कारण ५ वटा वडामा भने पालिका स्तरको अधिवेशन अघि सम्पन्न गरिने भएको छ । गैँडाकोटमा वडा नं.६, ७, ९, १२ र १८ मा ११ गते पूर्व नै वडा अधिवेशन गरिने नगर सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । वडा कमिटीको कार्यकाल २ वर्षको हुनेछ ।
तपाइँको प्रतिक्रिया