गैँडाकोट नगरपालिकामा जग्गा विवादका उजुरी धेरै, चालु आर्थिक वर्षमा ४२ उजुरी

विन्दु वाग्ले/गैँडाकोट २१ मंसिर । गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । नगरपालिकामा चालू आर्थिक वर्षमा दर्ता भएको ४२ वटा उजुरी मध्ये सबैभन्दा धेरै जग्गा विवादको परेको हो ।
अधिकांश उजुरीहरु साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाको जग्गा अर्कैले मिचेको जस्ता पर्ने गरेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख विष्णुकुमारी कंडेलले बताउनुभयो । यसअन्तर्गत २४ वटा उजुरी दर्ता भएका छन् । बाँकी अन्य शीर्षकमा उजुरी पर्ने गरेका हुन् । उपप्रमुख कंडेलका अनुसार समितीमा पर्ने उजुरीमध्ये १९ वटा उजुरीमा मेलमिलाप गरिएको छ र बाँकी प्रक्रियामै रहेका २३ वटा उजुरीलाई वडा मेलमिलाप केन्द्रमा पठाइएको छ । उजुरीलाई सकेसम्म मेलमिलापबाटै टुङ्ग्याउने र मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरिएको उपप्रमुख कंडेलले बताउनुभयो ।
नगरपालिकामा आर्थिक वर्ष २०७७÷७८ मा ९७ वडा उजुरी दर्ता भएका छन् । न्यायिक समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै जग्गा साँध सिमाना विवाद सम्वन्धी उजुरी रहेको छ । यस शीर्षकमा ५० वटा उजुरी दर्ता भएको छ भने श्रीमान श्रीमतीको झगडाका १० , गाली गलौज र धम्कीका ८, सार्वजनिक बाटो विवादका ८, सामाजिक न्याय सम्वन्धमा २, घरेलु हिंसाका १, उपचार खर्च उपलब्ध सम्वन्धमा १, पुल निर्माणले वस्तीमा पुगेको असर सम्बन्धमा १, अंशवण्डाको विषयमा १ र अन्य शीर्षकमा १५ वटा उजुरी परेका थिए । जसअन्तर्गत ८२ वटा उजुरीमा मेलमिलाप गरिएको छ भने एउटा उजुरीको निर्णय भइसकेको र वाँकी १३ वटा उजुरी प्रक्रियामा रहेका छन् ।
तपाइँको प्रतिक्रिया