गैँडाकोट नगरपालिकालाई नेपाली काँग्रेस गैँडाकोटको ध्यानाकर्षण पत्र

कात्तिक २९, गैंडाकोट ।
गैँडाकोट नगरपालिकालाई नेपाली काँग्रेस गैँडाकोट नगर समितिले आज ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न समयमा गैँडाकोट नगरपालिकाभित्र नागरिकले सास्ती बेहोर्नु परेकोले भन्दै सोमबार नगरप्रमुख छत्रराज पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । बेमौसमी बर्षातका कारण कृषकहरुको बालीनालीमा पुगेको क्षतिको क्षतिपूर्ती दिनुपर्ने, पूर्व पश्चिम राजमार्गको गैँडाकोट खण्डमा खाल्डाखुल्डी पुरी बाटो सहज बनाउन निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने, बर्षातको समयमा गैँडाकोट नगरपालिका अन्र्तगतका २, ४, ५, ७ र ८ जलमग्न हुनेहुँदा जलमग्न हुनु अगावै योजना बनाएर कार्यान्वयन गर्नुपर्ने र नारायणी नदिले गैँडाकोट तर्फको भु–भाग बर्षेनी काट्दै गएको, बस्तीहरु र खेतियोग्य जमीन मासिँदै गएकाले तत्काल त्यसतर्फ ध्यान दिई तटबन्धन गर्न शुरुवात गर्नुपर्ने लगायतका बिषयमा ध्यानकर्षण गराएको हो । ध्यानकर्षण पत्र बुझाउँदै नेपाली काँग्रेस गैँडाकोट नगर समितिका सभापति बद्री सापकोटाले आम जनसमुदायको जनचासो र सुविधाका लागि नगरपालिका जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नागरिकको सहजता र विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले पार्टी र व्यक्ति नभनी विकास निर्माणको काममा जुट्न सबै राजनीतिक दल एकजुट भएर अघि बढनुपर्ने समेत बताउनुभयो । नगरमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरिरहेको नगर प्रमुख पौडेलको भनाई छ । उहाँले भल निकासका लागि प्रदेश र केन्द्रसँग समन्वय गरेर काम भईरहेको जानकारी दिनुभयो । नगर प्रमुख पौडेलले राजमार्गका खाल्डाखुल्डी पुर्ने काम र बढि बिग्रेको स्थानमा पिच गर्ने काम गरिसकिएको बताउदैँ सबैसँगको सहकार्यमा नगरको विकास गरिने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया