गैँडाकोट स्वास्थ्य चौकी भवन समुद्घाटन, बर्थिङ सेन्टरको सेवा सञ्चालनको तयारी

विन्दु बाग्ले, गैँडाकोट, २१ मंसिर ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालको रुपमा स्थापना गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभएको छ । अस्पतालको रुपमा विकास गर्नका लागि प्रदेश र संघिय सरकार समक्ष प्रस्तवना लगिसकेको पौडेलले जानकारी दिनु भयो । मंगलबार गैंडाकोट वडा नं. ५ मा निवनिर्मित गैंडाकोट स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै प्रमुख पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नगरमै २÷३ महिनाभित्र सर्पको टोकाइको उपचार साथै पोष्टमार्टम लगायतका सेवा लिन भरतपुर जानुपर्ने बाध्यताको समेत अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । उहाँले छिट्रै एम्बुलेन्स सहितको वर्थिङ सेन्टर बनाईने बताउनु भयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले आपतकालिन स्वास्थ्य सेवाका लागि गण्डकी प्रदेशबाट वागमती प्रदेशमा जानुपर्ने बाध्यता रहेको बताउँदै त्यसको अन्त्यको लागी यस स्वास्थ्य चौकीबाट गुणस्तरिय सेवा प्रवाहमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै गैँडाकोट स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडां ५ का वडाअध्यक्ष नवराज कंडेलले नवनिर्मित स्वास्थ्यचौकी भवन समय अगावै योजना सम्पन्न गर्न सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नु भयो । उहाँले आउँदा दिनहरुमा यसैगरी सबै क्षेत्रहरुबाट निरन्तर सहयोग भएमा यो स्वास्थ्य चौकीलाई अझ राम्रो बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जिल्लामा १ लाख ८० हजारलाई खोप लगाई सकिएको जानकारी दिँदै गैंडाकोट नगरपालिकाले स्वास्थ सेवाको जुनसुकै काम पनि चुस्त र दुरुस्त गरेकोमा नगरपालिकाप्रति आभारप्रकट गर्नुभयो । कार्यक्रममा स्वास्थ्य चौकि व्यवस्थापन समितिका पुर्व अध्यक्ष ज्ञानेन्द्रप्रसाद सापकोटा, वडा नं. २ का वडा अध्यक्ष ध्रुवराम पौडेल, पूर्व गाविस सचिव पदम प्रसाद घिमिरे र नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदनभक्त अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
२ करोड ५० लाख बढी लगानिमा निर्मित गैंडाकोट स्वास्थ्यचौकीमा ७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कार्यरत छन् । भवन निर्माणको ठेक्का नागार्जुन जेजेजेबी कन्स्ट्रक्शनले लिएको थियो ।
कन्स्ट्रक्शनले निर्माण सम्पन्न गर्ने समय भन्दा ८ महिना अगाडी नै निर्माण सम्पन्न गरि स्वास्थ्य चौकी ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । सो अवसरमा सामुदायिक सेवामा समयसम्म सेवा गरेका र समय अगावै भवन निमाण गरेर स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकोमा निर्माण कम्पनी र इन्जिनियर लगायतलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया