गैँडा तस्करीको आरोपमा गैँडाकोट १ का चतुरे सहित ८ जना पक्राउ
चितवन, १२ असोज ।
एकसिगें गैंडा तस्करीको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ८ जनालाई पक्राउ गरि मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्ने ८ जना मध्ये गैँडाकोट १ का एक युवक पनि रहेको निकुञ्जले जानकारी दिएको छ । गैंडाकोट नगरपालिका–१ धारापानी बस्ने ३२ वर्षीय चतुरे भनिने गोपाल सारु पनि पक्राउ परेका छन् । सारु सहित मकवानपुरको मनहरी गाउँपालिका–४ का एकै घरका दाजुभाई पर्ने वर्ष ३० का जयबहादुर प्रजा, वर्ष ३६ वर्षीय सिंहराम प्रजा र सुरेश प्रजालाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका ९ का २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरी–४ नयाँबस्ती बस्ने २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनु भयो । निकुञ्जले चार वटा गैंडा मार्नमा संलग्न भएका १७ जना मध्ये ८ जना पक्राउ परेकोमा ९ जना अझै फरार छन् । उनिहरुलाई गत साउन ३२ देखि भदौं १० गतेसम्ममा चार वटा गैंडा मारी खाग विक्री गरेको ओरोपमा पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।