गैंडाकोट नगरपालिकामा पहिलो पटक चैते धान दिवस मनाईयो

गैंडाकोट ।
गैंडाकोट नगरपालिकामा पहिलो पटक हिउँद महिनामा चैते धान दिवस मनाईएको छ । धानको लागि पकेट क्षेत्र मानिएको गैंडाकोट ११ मा रहेको धान पकेट क्षेत्रमा धान रोपेर यो मनाईएको छ र्। दुई बाली धान लगाउ, खाद्य सुरक्षा र रोजगारको आधार बनाउ’ भन्ने मुख्य नाराका साथ प्रथम चैते धान दिवस मनाइएको हो । धान पकेट क्षेत्रको रुपमा रहेको गैंडाकोट ११ मा गैंडाकोट नगरपालिकाको आर्थिक सहयोग एवं मुकुन्दसेन धान कृषक समूहको आयोजनामा धान रोप्ने कार्यक्रम भएको हो ।
यसअघि भएको कार्यक्रममा प्रमुख मदनभक्त अधिकारीले नगरपालिकाले गोदामघरका लागि १० लाख रुपैयाँ दिएको उल्लेख गरे । रोजगारी सृजना एवं आय वृद्धिमा चैते धानले सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले क्रमशः सिंचाइको व्यवस्था मिलाउँदै जाने बताए ।
कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछानेले उत्पादन क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै बजारीकरणका केही समस्या रहेको उनले बताए । त्यस्का लागि सबै जुट्नुपर्ने बताए । चैते धानको उत्पादन वृद्धिमा लाग्नुपर्ने उनको भनाई थियो ।
गैंडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले कृषि क्षेत्रको विकासका लागि वडाले पहल गरिरहेको बताए । उनले भेडाबारी क्षेत्रमा ३२ वटा बोरिङ रहेको जनाउँदै विद्युतिकरणको आवश्यकता महशुस गरिरहेका बताए ।
नगर उपप्रमुख शान्ति कोइराला, वडा अध्यक्षहरु चक्रपाणी कंडेल, तेजप्रसाद घिमिरे, मधुकर मल्ल, प्रेमराज तिमिल्सेना, कोकीसरा रानामगर, कृषि ज्ञान केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत मिरा चौधरी, गैंडाकोट कृषि शाखा प्रमुख राजु शर्मा, जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम समूहका संयोजक निर्मल न्यौपानेको अध्यक्षतामा भएको थियो । समूहका सचिव कृष्ण कंडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा समूहका उप संयोजक बाबुराम पराजुलीले सहिजकरण गरेका थिए ।
तपाइँको प्रतिक्रिया