गैंडाकोट नगरपालिकाले आफ्नो ५ औं नगर सभा सम्पन्न– आर्थिक वर्ष २०७६/७७ को बिनियोजन बजेटमा छलफल

नगर–सभामा बिस्तृत छलफल पछि आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विधेयक, आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयक र नीति तथा कार्यक्रम पारित भएको हो । गैंडाकोट नगरपालिकाले यस वर्ष कृषि–पशुपालन, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता प्रदान गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागि ६४ करोड बढिको बजेट ल्याएको नगरपालिकाले कृषि र पशुपालन यस्तै शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता निर्धारण गरेको छ । नगरपालिकाको समग्र विकासका निम्ति कृषि र पशुपालन नै उत्तम विकल्प रहेकाले यसतर्फ प्राथमिकता निर्धारण गरिएको नगर–प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभएको थियो ।
समृद्धि गैंडाकोटको अभियानमा लागेको नगरपालिकाले कृषि उत्पादन बृद्धि गराउन बोरिङ निर्माण, कृषि अनुदान, कृषि सम्बन्धि मल बिउँ प्रदानलगायतका आकर्षकका कार्यक्रमलाई प्राथमिकता दिइरहेको छ ।
बुधबार सम्पन्न नगर–सभामा नगरपालिकाका उप–प्रमुख विष्णुकुमारी कंडेलले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो ।
सोहीक्रममा प्रस्तुत विधेयक माथी १६–जना नगरसभा सदस्यहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । सोहीक्रममा बोल्ने अधिकांश महिला सभाषद्हरुले महिलाहरुका क्षेत्रमा न्युन बजेट विनियोजन भएको यस्तै आफ्ना वडामा बजेट विनियोजन गर्न माग गर्नुभएको थियो ।
सभामा नगरसभा सदस्य उषा विकले दलित महिलाका लागि न्युन बजेट छ्ट्याइएको भन्दै आफ्नो समुदायमा बजेट दिन माग गर्नूभएको थियो । अर्की सदस्य कौसिला नेपालीले महिलाहरुलाई नगरपालिकाले उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
नगरसभा सदस्य तेजप्रसाद घिमिरेले १–वार्ड, १–युवा स्वरोजगारको कार्यक्रम लागु गरि युवाहरुलाई स्वरोजगार बनाउन आवश्यकता रहेकोमा जोड दिनुभएको थियो । उहाँले नगरबासीले समृद्धि र विकासका आकाक्षां राखेको सन्र्दभमा सबै जनप्रतिनिधि सार्वजनिक हितका निम्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।
नगरसभा सदस्य गोविन्द कोइरालाले खुल्ला विश्वविद्यालयको कार्यक्रम नगरपालिकामा सञ्चालन गर्ने भनिएपनि अहिले त्यो सन्र्दभ ओझेलमा परेकोबारे सभाको ध्यानाकर्षण गर्नुभएको थियो । उहाँले नीजि विद्यालयले जथाभावी शुल्क असुल्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउदै आवश्यक मापदण्ड बनाउन माग गर्नुभयो ।
थप समयमा बोल्दै उहाँले जथाभावी सम्सानघाट बनाएर नारायणी नदि प्रदुषण रोक्न विद्युतिय सबदाह निर्माण गर्नुपर्ने बताउनुभएको थियो ।
सभामा नगरसभा सदस्य राजेन्द्रप्रसाद उपाध्यायले नगरसभामा प्रस्तुत विधेयकमाथी छलफलको समय कम भएको धारणा राख्दैं कार्यपालिकाको कार्यशैलिप्रति सभाको ध्यानाकर्षण गर्नुभएको थियो ।
नगरसभा सदस्य छविकला पाण्डेल दुग्ध उत्पादनका दृष्टिकोणले नेपालकै न्युजिल्याणका रुपमा परिचित मुकुन्दपुरलाई नगरपालिकाले उचित सम्बोधन गर्न नसकेको भन्दै दुखेसो व्यक्त गर्नुभएको थियो । उहाँले नगरपालिकाको कृषि र पशुपालनबारेको अभियान प्रसंशनीय रहेपनि यस क्षेत्रको दुग्ध उत्पादनबारे ध्यान दिन नगरसभासमक्ष आग्रह गर्नुभएको थियो ।
सभामा सांसद् पार्वती सापकोटाले युवाहरुका क्षेत्रमा प्रभावकारी कार्यक्रम अघि सार्नुपर्ने बताउनुभएको थियो । उहाँले आधा हिस्सा ओगटेका महिलाहरुलाई बजेट कम भएको गुनासो राख्नुभएको थियो । सभामा तुलाराम पौडेलले नगरपालिकाको वडा नंं. १० देखि १७ सम्म हेर्ने अस्थाई प्रहरी पोष्ट बेल्डियाको स्तरोन्नती र व्यवस्थि गर्नुपर्ने बताउनुभयो ।
नगरसभामा नगरसभा सदस्य ईश्वरीप्रसाद चापागाइँले नगरपालिकाको गुरुयोजनालाई पूर्णता दिइ दिर्घकालिन महत्वका कार्यक्रम सञ्चालनमा ध्यान दिन सभासमक्ष आग्रह गर्नुभएको थियो । सभामा नगरसभा सदस्य कृष्णप्रसाद सापकोटा, लक्ष्मीप्रसाद सापकोटालगायतले आगामी वर्षमा नगरपालिकाको विकास र समृृद्धिका निम्ति सबै जनप्रतिनिधि एक मत भइ अघि बढ्नुको बिकल्प नभएको भन्दै समृद्धिको पक्षमा धारणा राख्नुभएको थियो ।
सोहीक्रममा नगरसभा सदस्यको बिचार सून्दै नगरप्रमुख छत्रराज पौडेलले सिमित साधन स्रोतका कारण पनि धेरै कार्यक्रमलाई सम्बोधन गर्दै अघि बढेको हुँदा आसातित बजेट सबैलाई विनियोजित गर्न नसकिएको धारणा राख्नुभएको थियो ।
उहाँले समृद्ध गैंडाकोट बनाउन सबै पक्षसंग हातेमालो गर्दै सहअस्तित्वको आधारमा अघि बढिरहेको बताउनुभयो । स्थानीय सरकारले सक्ने योजनाहरु स्थानीय तहमा र बाँकी योजनाहरुका लागि प्रदेश सरकार र संघीय सरकार संग पहल गरी अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभएको थियो ।
फरक प्रसंगमा नगर–प्रमुख पौडेलले लक्षित वर्ग कार्यक्रमहरु सोही समुदायका जनप्रतिनिधि संग सल्लाह र समन्वय गरी कार्यक्रम अघि बढाइएको स्पष्टोक्ति राख्नुभएको थियो । आफुहरु जनप्रतिनिधि भएपश्चात जनताका समस्या र आकांक्षाहरु सम्बोधन हुनेक्रममा गइरहेको भन्दै धेरै प्रतिबद्धताहरु पुरा गर्न सबै जनप्रतिनिधिले हातेमालो गर्नुपर्ने बताउनुभयो । समृद्धि गैंडाकोट निर्माण गर्न उत्पादनमुखि र दिर्घकालिन योजनालाई प्राथमिकता दिंदै जाने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया