गैंडाकोट वडा नं. १० मा माता तिर्थ औशीको अवसर पारेर ७५ वर्ष भन्दा माथिका वृद्धा आमाहरुलाई सम्मान

बैशाख ७, गैंडाकोट
गैंडाकोट वडा नं. १० मा माता तिर्थ औशीको अवसर पारेर ७५ वर्ष भन्दा माथिका वृद्धा आमाहरुलाई एक कार्यक्रमका बिच बिहिबार सम्मान गरिएको छ । कार्यक्रममा वडाका ७५ वर्ष भन्दा माथिका ८६ जना वृद्धा आमाहरुलाई वडा लगायत विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा सम्मान गरिएको हो। उनीहरुलाई नगद ५०० रुपैया प्रदान गर्दै हरेराम हरेकृष्ण अंकित दोसल्ला ओढाई सम्मान गरिएको हो । आमाको मुख हेर्ने पवित्र दिनको अवसर पारेर वृद्धा आमाहरुलाई प्रसाद सँगै विहानको भोजन गराईएको थियो ।
कार्यक्रममा वडामा रहेर वृद्धा आमाहरुको राम्रो स्याहार सुसार गर्ने ७ जना बुहारी तथा नातीनी बुहारी लाई पनि नगर ५ सय रुपैया तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्ता कार्यक्रम र सम्मानले अझ समाजमा वृद्धवृद्धाहरुको सम्मान र राम्रो स्यहार सुसार गर्न थप हौसला मिल्ने आयोजकको बुझाई रहेको छ । यस्ता कार्यक्रमले समाजमा आमाहरुको महत्व र भूमिकाको बारेमा नयाँ पुस्तालाई जानकारी सँगै नैतिक शिक्षा प्रदान गर्न पनि कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट नगरापलिकाकी उप प्रमुख शान्ती कोईरालाले यस्ता कार्यक्रमले समाजमा नयाँ पुस्तामाझ आमाको सम्मान र पुजाको पाठ सिकाउन अनुकरणीय कार्यक्रम भएको बताउनुभयो । आमाहरुको आशिर्वाद सबै छोराछोरीमा रहिरहोस् र कुनै पनि छोराछोरीहरु आमा विनाको टुहोरो हुन नपरोस भन्दै सबैमा शुभकामना समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रम जेष्ठ नागरिक समाज गैंडाकोट १०, गैंडाकोट वडा नं. १० को वडा कार्यालय , मुकुन्दसेन सामुदायिक वन, श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम, वडाका ८ वटै टोल विकास संस्था, वडाका ८ वटै आमा समूहहरु ले संयुक्त आयोजना गरेका हुन् । कार्यक्रम गैंडाकोट १० को श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रममा भएको थियो ।
तपाइँको प्रतिक्रिया