गैंडाकोट वडा नं. ११ को गणेश मन्दिर प्राङ्गणमा ७५ वर्ष भन्दा माथिका ५५ जना वृद्धा आमाहरुलाई सम्मान

बैशाख ७, गैंडाकोट
गैंडाकोट वडा नं. ११ को गणेश मन्दिर प्राङ्गणमा आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औशीको अवसर पारेर ७५ वर्ष भन्दा माथिका वृद्धा आमाहरुलाई एक कार्यक्रमका बिच बिहिबार सम्मान गरिएको छ । जेष्ठ नागरिक समाज वडा नं. ११ को आयोजना तथा गैंडाकोट वडा नं. ११ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाका ७५ वर्ष भन्दा माथिका ५५ जना वृद्धा आमाहरुलाई च्यवनप्रास र हरेराम हरेकृष्ण अंकित दोसल्ला ओढाई सम्मान गरिएको हो । आमाको मुख हेर्ने पवित्र दिनको अवसर पारेर वृद्धा आमाहरुलाई विशेष सम्मान गर्दै मिठाई समेत खुवाईएको थियो ।
यस्ता कार्यक्रमले समाजमा आमाहरुको महत्व र भूमिकाको बारेमा नयाँ पिँढीलाई सिकाउन कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट नगरापलिका वडा नं. ११ का वडाध्यक्ष गोबिन्द प्रसाद सुवेदीले यस्ता कार्यक्रमले समाजमा नयाँ पुस्तामाझ आमाको सम्मान र पुजाको पाठ सिकाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम जेष्ठ नागरिक समाज गैंडाकोट ११ का सदस्यहरु, गैंडाकोट वडा नं. ११ को वडासदस्यहरु, सँगै विभिन्न संघ संस्थाका अगुवाहरुको विशेष उपस्थिती रहेको थियो । कार्यक्रम जेष्ठ नागरिक समाज वडा नं. ११ का अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया