गैंडाकोट १० भैसाखोरीमा शनिबार देखि नगरस्तरीय प्रथम वडाध्यक्ष भेट्रान फुटबल कप सुरु, आज गैडाकोट वडा नं. १७ र ७ का बीच खेल हुँदै

बैशाख १७, काठमाण्डौं
गैंडाकोट १० भैसाखोरीमा शनिबार देखि नगरस्तरीय प्रथम वडाध्यक्ष भेट्रान फुटबल कप सुरु भएको छ । स्थानीय युवा क्लब सुनगाभा युवाक्लबको आयोजना तथा गैंडाकोट १० को आर्थिक सहयोगमा उक्त कप सुरु भएको हो । करिब ४० वर्ष भन्दा माथिका खेलाडीहरुको शारिरिक तन्दुस्ती, स्वास्थ्य र मनोरञ्जनलाई एकसाथ आत्मसाथ गर्दै खेलको सुरुवात गरिएको सुनगाभा युवा क्लबका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले बताउनुभयो । खेलमा गैंडाकोट नगरपालिकाका १८ वटै वडामा खेल खेल्नका लागि पत्राचार गरिसकिएको र कम्तिमा १५ टिम भन्दा माथिको उपस्थिती रहने आयोजकले जनाएको छ । खेलमा प्रथम हुनेले ५० हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् भने दोश्रो हुने ले ३० हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । खेलमा म्यान अफ दि म्याच सँगै विभिन्न विधामा पुरस्कारहरु राखिएको छ ।
खेलमा मुख्य आर्थिक सहयोग गैडाकोट वडा नं १० बाट रु १ लाखसँगैे अन्य संस्थाहरु टाईम फर्मास्युटिकल्स प्रा.लिबाट दोश्रो पुरस्काको सौजन्य गरिएको छ । सेन्ट्रल कलेजले पनि केहि आर्थिक सहयोग गरेका छन् भने बिदेशमा रहेका क्लबका पुराना साथीहरुले पनि खेलमा यथासक्य आर्थिक सहयोग गरेका छन् । खेल सम्पन्न गर्नका लागि आयोजकले अनुमानित ४ लाख खर्च हुने बताएको छ । खेलका लागि अहिले पनि विभिन्न संघसँस्थाहरु लगायत क्लबका स्वदेश तथा बिदेशमा रहेका सदस्यहरुसँग क्लबले यथासक्य आर्थिक सहयोगको लागि अपिल गरिरहेको छ । क्लबका गतिविधिहरु सक्रियरुपमा आगामी दिनमा अगाडी बढाउनका लागि क्लबका पुराना सदस्यहरुबाट आर्थिक सहयोग गर्ने वाचा समेत गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सुनगाभा युवा क्लब वि.सं. २०५० सालमा स्थापित भएको क्लब हो । यो क्लबको आधिकारिक दर्ता भने २०५५ सालमा भएको हो । जुन बेला यो क्लबले विभिन्न ठुला ठुला खेल प्रतियोगिताहरु आयोजना गर्ने, देउँसी भैलो खेली क्लबले सामाजिक कार्यहरुमा आवश्यक पर्ने भाडाकुँडाहरु जोड्ने, खाली ठाउँमा वृक्षारोपण गर्ने, खेल सम्बन्धी जनचेतनाका कामहरु गर्ने जस्ता धेरै नै कामहरु गरेर समाजमा नाम समेत कमाउन सफल भएको थियो । तर बीचमा क्लबका धेरै सदस्यहरु बिदेशिदा तथा आफ्ना कामहरुमा ब्यस्त रहँदा सुस्ताएको थियो भने अहिले सबै सदस्यहरु सक्रिय भएर क्लबको गतिबिधिहरु अगाडी बढाईरहेका छन् ।
शनिबार गैडाकोट ११ र २ को बीचमा खेल भएको थियो जसमा गैडाकोट वडा नं. ११ ले २–१ ले खेल जित्न सफल भएको छ । शनिबारको खेलमा म्यान अफ दि म्याच गैडाकोट ११ का जर्सी नंं ११ का कुलमान श्रेष्ठ हुन सफल हुनु भएको छ । खेल जम्मा ५० मिनेटको खेलाईएको थियो भने खेलमा टिमबाट ९÷९ जना खेलाडी खेल मैदानमा उतारिएको थियो ।
आजको खेल गैडाकोट वडा नं. १७ र ७ का बीच हुने आयोजकले जनाएको छ । खेल ४ः३० बजे देखि गैडाकोट १० रत्न राज्य लक्ष्मी मा.वि., भैंसाखोरीको को खेल मैदानमा सुरु हुने आयोजकले बताएको छ । खेलको फाईनल म्याच भने यहि बैशाख ३० गते हुने बताईको छ ।
शनिबारबाट सुरु भएको खेलको समुद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गैंडाकोट वडा नं. १० का वडाध्यक्ष देबिदत्त कंडेल, वडा नं. १४ का वडाध्यक्ष कोकिसरा राना मगर, वडा नं. १६ का वडाध्यक्ष बिनोद मल्ल, वडा नं. ११ का वडासदस्य गुरु प्रसाद पौडेल, १४ का वडासदस्य ओम प्रसाद गुरुङ्ग, रत्न राज्य लक्ष्मी मा.वि.का प्रधानाध्यापक नबराज काफ्ले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुन, खेल प्रशिक्षक विष्णुलाल श्रेष्ठ लगायत खेलप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो । क्लबका सहसचिब लिलाधर खरेलले उद्घाटन कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया