घर छोड्दाको त्यो रात……, उसका नयनमा आँशुको वर्षा

भाद्र २९
घर छोड्दाको त्यो रात……..
घर छोड्दाको त्यो रात बेलुकाको खाना खाएपछि सबै आ–आफ्नो कोठामा जान्छन् । उ पनि आफ्नो कोठामा गएर सुत्छ तर उस्लाई निन्द्रा पर्दैन । उसको मन सारै दुखित र मनमा अनेकौं कुराहरु खेल्दछन् । उसका नयनमा आँशुको वर्षा हुन्छ । सुनेको हुन्छ, छोरो मान्छे भएर रुनु हुन्न भन्ने तर छोरो मान्छेको पनि त मनै हो चोट लाग्दा दुख्छ, अनि परिवारसँगको बिछोडमा अबश्य नै आँसुहरु बगिदिन्छ तर कस्तो विडम्बना आफ्नो परिवारसँगको बिछोडमा पनि लुकी लुकी रुनु पर्ने भित्री मन रुवाई रुवाई बाहिरी हाँसो छर्नु पर्ने । बिछोडका अनगिन्ती चोट र पिडाहरुलाई लुकाउनु पर्ने । भित्रै छुपाई राख्नु पर्ने छोरो मान्छे भएर यस्तो परिस्थितीमा भन्छ तर उस्की श्रीमती भने डाँको छोडेर क्वा क्वा गरेर आँसु देखाएर रोएकी छ । उ भने छोरो मान्छे भएर रुनु नहुने कथमकदाचित आँसु झरे अनगिन्ती उपनाम पाईने नामर्द, हुतिहारा के हो के के खै तर पनि उ रोयो धेरै रोयो लुकी लुकी रोयो । आफैंले ओढेको सिरकले मुख छोपेर रुन्छ । कसैले देख्ला कि भन्दै डराई डराई रुन्छ । आखिर उस्को पनि त मनै हो अनि मुटु उस्को पनि त धड्कीन्छ, अनि बिछोडमा आँशुहरु उस्को पनि त बगिदिन्छ । उ पनि त मानव हो । उस्ले सोच्दछ हे भगवान म कसरी बिदाई भएर निस्कनु यो घरबाट । मलाई खै के भएको नयाँ बेहुलीको अन्माउने साईत झै लागेको भन्छ । देशमा राजनैतिक स्थायित्व भएको भए, देशमा असल राजनेता र असल नागरिकहरु भएको भए आज म जस्ता तमाम युवाहरु विदेशीनु पर्ने थिएन । न लगानीको सुरक्षा छ, न त नागरिकको जिउ धनको नै रक्षा छ । देशको वर्तमान अवस्था झनझन बिग्रदो छ, मानिसहरु कर्ममा भन्दा भन्न (भाषण) मा बढि जोड़ दिन्छन् । आधुनिकताको नाममा देखासिकी र परनिर्भता मात्र छ । आफ्नो सृजना र क्षमतालाई परिचालन नगरि बाह्य उत्पादन र वस्तुलाई स्थान दिने परिपाटीले भुमिका खेलेको छ । आम्दानी भन्दा खर्च बढी छ । महंगाई दिन दुई गुणा र रात चौगुणा बढेको छ । अनुगमन गर्ने निकाय चीर निन्द्रामा छ । देशमा बेरोजगार, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारले सीमा नाघिसकेको छ । यस्ता तमाम बेथिती र बिसंगतीले गर्दा उस्को मुटुमा गाठो परेर आउँन थाल्छ र मनमनै भन्छ हे भगवान आर्थिक सम्वृद्धि र सम्पत्ति कमाउनका लागी झोला र पासपोर्ट बोकेर विदेश हिड्नु पर्ने कुप्रथाको अन्त्य गराउने एउटा असल राजनेताको जन्म गराईदेउ प्रभु यो देशमा । उस्ले फेरि आफ्नो परिवार र भोली बिछोड हुने दिनलाई सम्झन्छ । उस्का आँखा भरि आँसु टल्पलाउँन थाल्छन् । मन थाम्न सक्दैन् । अनि भन्छ मेरो दिल पनि त पत्थर को होईन् भन्दा भन्दै निदाउँछ ।
मोबाईलमा आलारामको घण्टी बज्छ । अनि जुरुक्क उठ्छ र मोबाइलको आलाराम बन्द गर्दछ । यसो मोबालईमा घडी हेर्दा बिहानको ३ बजेको हुन्छ । अल्लि मलिन सुस्त तर आत्तिएको स्वरमा पल्लो बिस्तारामा सुतेकी आफ्नी श्रीमतीलाई पनि उठाउँछ किन कि श्रीमतीसँगै सुतेकी छोरीलाई नब्युझाउँनु उस्को मनसाय हुन्छ । श्रीमतीले हजुर , ल म उठेँ भन्छे, झर्लक्क श्रीमतीको अनुहारमा के हेर्न भ्याँउछ अनुहार निकै उदास र आँखाका परेली वर्षा याममा निथु्रक्क भिजेको मानिस जस्तै देख्छ । यस्लाई उस्ले केही क्षण पछि हुन लागेको पारिवारिक विछोडको संज्ञा दिन्छ । उस्की श्रीमती एक हप्ता देखि नै छोराछोरीसँग बिछोडिनु पर्ने पीडाले छोराछोरी काखमा राखेर सुस्केरा हाल्दथी । अनि बेलुका सुत्ने बेलामा आँखा भरि साउनको भेल सरि आँसुको बलेसी बगाउँदथी । अनि श्रीमती ओछ्यानबाट तल खुट्टा राख्न भ्याउँदा नभ्याउँदै जुका झैं टाँसिएकी उस्की छोरी पनि ममी भन्दै रुंदैं उठ्छे र मन भारी बनाउँदै बडो निराश स्वरले “अब हजुरहरु जाने बेला भयो है” भनेर आफ्नो बाउको मुहारमा हेर्दछे । अनि बाउले हो छोरी भन्दै आफ्नो हात छोरीको टाउको माथि राख्दै मुसुक्क मुस्कुराउदै जवाफ दिन्छ । अनि उस्कि श्रीमती र छोरी तल झर्दछन् । त्यती वेरसम्ममा उस्का आँखाका आँगनीमा आँशुको बलेनि खसिसकेको हुन्छ यो कुरा उस्ले आफ्नो बुबाआमा छोरी, छोरा, श्रीमती र घरका अन्य परिवारजन कसैका अगाडी देखाएको हुँदैन् र फेरि ति झरेका बलेनिलाई आँफुले ओढेको सिरकले पुछि आफ्नो कोठाको ढोका हुँदै गल्लि तिर निस्कन्छ । अनि पल्लो कोठामा सुतेका (आफ्ना बाबु र छोरा) लाई बुबा, ए बुबा, बुबा म जानि बेला भयो उठ्नुस् भन्दै बुबा सुतेको कोठाको बत्ती बाल्छ । बुबाले ल ल म उठें भनेको सुन्छ र बुबाको ओछ्यान तिर नजर घुमाउँछ । त्यहाँ पनि उस्को छोराले हजुरबुबालाई अंकमाल गरेर सुतेको देख्छ । एकै छिनमा उस्को मनमा भावनात्मक पिडाको ज्वारभाटाले ढ्वाक्क हान्छ र आँखामा नुनिलो वर्षात हुन्छ । अनि बुबा र छोरो सुतेको ओछ्यानमा गएर बाबु, ए बाबु, बाबु मेरो छोरा, ए छोरा भनेर उठाउने कोशिस गर्दछ । एक त बच्चा, त्यस माथि राति अबेर सुतेको भएर होला छोराको निद खुल्दैन । एक्कै छिनमा बुबाले सुस्त स्वरमा किन उठाउन पर्यो यस्लाई ? अहिले साईतका बेलामा रोयो, पछि लाग्यो भने भुलाउन पनि सकिदैंन अनि पछि आफ्नो आँखा वरिपरी घुमिरहन्छ । घर नफर्कुन्जेल सम्झनाले बहुत सताउँछ कान्छा भनेको सुन्छ । बुबाले आफ्नो तिन दशकको प्रदेशी जिवनमा भोगेका यिनै तिता नमिठा क्षणहरु प्रस्तुत गर्नु भएको होला भन्ने सोचका साथ आगो ताप्नु मुढाको कुरा सुन्नु बुढापाकाको भन्ने उखान सम्झी फेरी उ फरक्क गल्ली तिर नै निस्कन्छ एवम् रितले माथिल्लै तलाको अर्को कोठामा सुतेका आफ्ना भतिज र भानिजहरुलाई पनि नाता अनुसारको सम्बोधन गरि ए उठ म जाने बेला भयो । छिटो उठ है भनि उ तल झर्छ । तल झर्ना साथ उस्ले भान्छाको ढोका नजिकै आमालाई देख्छ । आमाको र उस्को आँखा एकाएक हेराहेर हुन पुग्दछ । आमाको अनुहार र आँखामा पनि उस्ले भावुकता र निराशाको बादलले ढाकेको प्रस्ट देख्छ । अनि मनमनै अबको केही समय पछि धर्तीमा सूर्योदयले बिहानीको किरण छरि उज्यालो बनाए पनि हजुरको मन कति दिनसम्म अँधेरो हुने हो आमा भनि सोच्दछ । किन कि नारीको मन सारै कमलो र छिटै उदास हुन्छ रे त्यसमा पनि नारीहरु मध्ये कि आमाले त आफ्नो जिवनको अन्तिम अवस्था सम्ममा पनि छोराछोरीकै लागि परान झुन्डिएकै हुन्छ रे । सन्ततिको संख्या जति धेरै भए पनि सबैलाई समानुपातिक माया र ममता दिई जन्मदिने आमा र कर्तव्य निभाउन ठुलो भूमिका निर्वाह गर्ने बाबु, प्रत्येक वर्ष आउने चार्डपर्व र घरमा मिठोमसिनो पाक्दा जो आफु देखी धेरै टाढा छ उस्को यादले धेरै सताउने भो हजुरलाई भनि आफ्नै मनमा कुरा खेलाउँछ । अनि निराश नाँके स्वरमा आमा भनेर बोलाउँछ । आमाले पनि बडो दुखित स्वरमा होई, उठिस् ? चिया बनाम है ? भन्नु हुन्छ । हुन्छ , बनाउँनुस् भन्ने जवाफ आमालाई दिन्छ । आमा भान्छाकोठा तिर लम्कनु हुन्छ ।
उ त्यही गल्लिमा एक छिन उभिई हजुरको हातले बनाएको चिया अब कति वर्ष पछि खान पाउने हो , सायद अभाव नभएको भए महत्व थाहा हुने थिएन, पहिला स्वदेशको वसाई हुँदा हजुरले मलाई कति पटक खिर बनाएर खान बोलाउँदा एकछिन् पछि खान्छुके भनेर रिसाएका पलहरु धेरै छन् । आज म पारिवारिक वातावरणबाट धेरै टाढा जादै छु त्यही भएर होला हजुरले तताएको एकमुठी तातो पानीको पनि यति धेरै महत्व भएको भनेर सोच्छ । अनि बिस्तारै मझेरी (आधुनिक भाषामा भन्नु पर्दा बैठक कोठा) तिर लम्कन्छ । मझेरीमा दिदीहरु, दाई, भाउजु , भतिज र भानिज सबै जना बसेर कुरा गरेको देख्छ र उहाँहरु सबैले उस्लाई हेर्दछन । त्यहाँ पनि उस्ले एक किसिमको मौनता र भावुकताको छाँयाँले बास गरेको देख्छ । उहाँहरु मध्येबाट एक जनाले गाडी कति खेर आँउछ ? भनेको सुन्छ र उस्ले ४:३० बजे भनेर जवाफ दिई बिहानको नित्यकर्म गर्न भनि बाथरुम तिर मोडीन के लागेको हुन्छ अर्को कोठामा फेरी आफ्नी श्रीमती र छोरी एक आपसमा अंकमाल गरेर बिलौना गरेको देख्छ । उस्ले मन अमिलो पार्दै उनिहरुको समीपमा जान्छ र श्रीमतीलाई नरुन आग्रह गर्दछ । त्यत्तिकैमा छोरी जुरुक्क उठ्छे र दुई हातको वन्धन बनाएर उस्को घाँटीमा हात झुन्डाएर उस्को छातीमा टाउको टाँस्छे । छोरी आवाज विहिन तरिकाले सुक्क सुक्क गरेर रुन थाल्छे । उस्का आँखाको आली आँशुको भेलले फुटाल्न थालि सकेका हुन्छन् अनि छोरीलाई च्याप्प अंगालोमा बाँधि बाहिर बरन्डामा निस्कन्छ । एक छिन् बाबु र छोरी शब्द विहिन तरिकाले भावबिहल हुन्छ र एक छिनमा उस्ले आफुलाई पनि समाल्छ र छोरीलाई पनि विदेशबाट थुप्रै खोलाउना, मिठाई र लत्ताकपडा पठाई दिने आश्वासनका साथ फकाई फुलाई गर्दछ । अनि एकले अर्काको अाँशुको बाछिटो पुछि बाउ र छोरीको एउटा सेल्फी फोटो खिची भित्र पस्दछन् । छोरीलाई मझेरी तिर जान भन्छ । आफु नित्यकर्मको लागी बाथरूम तिर जान्छ । नित्यकर्म सकि मझेरी तिर पुग्ना साथ आमाले किस्ति भरि चिया ल्याउनु हुन्छ । घरका सबै परिवार मिली चिया खान्छन् । चिया पिउँदै गर्दा उसले नेपाली साहित्यका प्रख्यात महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनको हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेश आनन्दित मनले भन्ने यि दुई हरप झर्लक्क सम्झन्छ र उसको मन, मुटु र मष्तिस्कलाई दुखित बनाई दिन्छ र मनमनै भन्छ विद्यालयमा यस्को अर्थ नबुझेको म आज समय, परिस्थिति र जिन्दगीले राम्रोसँग बुझ्ने मौका दियो । त्यत्तिकैमा चियाको कप तल राख्छ र यात्रा को लागी तयार हुन अर्को कोठामा पस्दछ र श्रीमतीलाई पनि छिटो तयार हुन भन्छ । दुबै जना तयार भएर फेरी मझेरी तिर नै पस्दछन् । दाई, भतिज र भानिजहरुले झोलाहरु बाहिर निकाल्छन् । एकै छिनमा मलिन स्वरमा आमाले ओई कान्छा हजुरआमालाई जान्छु भनिस् ? भन्नु हुन्छ । झसँग हुँदै अह, भनेको छैन भन्दै फरक्क फर्कि छिटो छिटो गर्दै हजुरआमाको कोठा तिर लाग्छ । उमेरले ९० औं बसन्त पार गरेकि उस्की मामा घरकी हजुरआमा उस्को बालापन देखी आजका दिनसम्म बुबाआमा पछिको दोस्रो संरक्षक कर्ता पनि हुन् । मस्त निन्द्रामा सुतेकी हजुरआमालाई बोलाउँछ र हजुरआमा ब्युझिनु हुन्छ । किन बोलाईस कान्छा ? भन्नु हुन्छ । म जान्छु हजुरआमा राम्रोसँग बस्नु होला, आफ्नो शरिरको ख्याल गर्नु है भनेर मात्र के भ्याउन लागेको हुन्छ बुढीका आँखामा त एक्कासी ताल फुटेर पानीको भेल बगे झैं आँशु बगेको देख्छ । बगेको आँशुलाई शब्दको सितन बनाई बडो नुनिलो स्वरमा अब त अर्को पटक आँउदासम्म बाँच्दिन होला, अब फेरी देख्न पाउँदिन होला बाबु म बुढी भईसके, तलाई हिड्दा ठेस नलागोस्, निहुंरीदा केश नझरोस्, आजसम्म राम्रो छ । अबका आँउदा दिनहरु पनि अझ राम्रोसँग बितोस्, अब कहिले आँउछौ ? बाँचे भेट होला मरेछु भने पनि सम्झिए है कान्छा भन्दै ओठ र दाँत थर–थर कमाउँदै दाँया हात उस्को शिरमा र बाँया हातले उस्को हात समाउँदै आशीर्वाद दिनु हुन्छ । उ शब्द बिहीन हुन्छ । हजुरआमाका ति वाक्यले र मन मनै सोच्दछ मृत्युले यो संसारमा कहाँ शिशु, बालक, युवा, वयस्क, अधवैंसे र वृद्ध भनेको छ र खै । हजुरको नाति जस्तै कतिपय हजुरआमाका नातिहरु विदेश जाने बेलामा सपनाको महल बनाए जान्छ । कोही आफ्नो हेलचक्राईका कारणले त कोही भबितब्य दुर्घटनाका कारणले मृत्यु भई काठको बाकसमा फर्कि आउँछन् । सपनाको महल सपनामै समाप्ती हुन्छ त्यसैले जीवन जिउनका लागि भाबीले जति लेखेको छ त्यत्ति नै भोगचलन गर्ने हो भन्दै हजुरआमाले नै ओढोको मोजेत्रोले हजुरआमाका नयनको अश्रुधारा पुछिदिन्छ र हजुरआमाको कोठा बाट निस्कन्छ । बैठक रुममा सबैको उपस्थित देख्छ । सबैका मुहार र नयनहरु मलिन र परेलिहरु छिपछिपे तर उस्ले आफ्नो छोरालाई देख्दैन् । मनमनै सोच्दछ छोरो अझैं उठेको रहेनछ । किन किन उस्लाई हिड्ने बेलामा फेरी एकचोटी छोरालाई नदेखी हिड्नै मन लाग्दैन र फेरी उ मझेरीबाट निस्कि गल्लि हुँदै माथि छोरो सुतेको कोठामा जान्छ । छोरो मस्त निन्द्रामा हुन्छ । छोराको नजिकै गई उस्को टाउकोमा हात राखि कपाल मुसार्दै छोराको निधार र मुखमा चुम्मन गर्दछ र मनमनै भन्दछ त नि म जस्तै अभागी रहिछस् बाबु । मेरो पनि बालापन बुबाको औला, काँध र काख कै आभावमा बित्यो । बुबाको खोकुलीमा खेल्ने र कर्तव्यरुपी रुखो बचन सुन्ने अभाव भयो भन्दै निद्राको छोरालाई एक चोटी आफ्नो काखमा लिन्छ र भन्छ जे भएपनि तलाई त आफ्नो बाबुले भन्दा बढी माया, ममता, र कर्तव्य निर्वाहा गर्ने हजुरबुबाआमासंग छोडेर जादै छु । आफुले त हजुरबुबाको काख त के तस्विर पनि देख्न पाईन । मेरा हजुरबा त मेरा बुबालाई छ महिनाको टुहुरो छोडेर स्वर्गबास हुनु भएको हो अरे । हजुरबाको स्वर्गबास पछि मलाई तेरा बा र फुपुहरुको पालन पोषण गर्न धेरै सास्ती भयो । एकल महिला भएपछि अन्धविश्वास, रुढिवादी समाज र आफ्ना भनौदाहरुबाट धेरै नै दुख भोग्नु परेको र संघर्ष गर्नु परेको थियो भनेर मसँग मेरी हजुरआमाले आफ्नो मृत्यु अघि गरेका दुख, सुखका कुराहरु अझै बिर्सेको छैन मैले । त यस अर्थमा म भन्दा नि धेरै सुखी र शौभाग्यशाली छस् भन्दै छोराको गाला मुसार्छ अनि छोरोलाई बिस्तरामा सुताई सिरक ओडाई दिन्छ । अनि नयनमा जमेको आँशुको तालमा रुमालले पुछि छोरो सुतेको ठाँउबाट तल झर्छ । मझेरीमा सबैको सहभागिता हुन्छ । उ विदाईको अन्तिम अवस्थामा आई पुगेको हुन्छ । छोरी आफ्नि ममिको आढ लाएर बसेकि छ । बुबा, आमा, हजुरआमा, दिदीहरु, दाई, भाउजु, भतिज, भानिज सबै जना मझेरीमा हुन्छन् । बुबाको हातमा टिका र अक्षेताले भरिएको थालि र आमाको हातमा फूल, दुबो र दही देख्छ । बुबाले उस्लाई र उस्की श्रीमतीलाई खाटमा बस्न भन्नु हुन्छ । बुबाले रातो टिका लगाउदै निराश र मलिन स्वरमा भन्नुहुन्छ । राम्रोसंग जानु, ऋण लागेपनि दिन र शत्रु कहिल्यै नलागुन घरको केही पिर चिन्ता लिनु पर्दैन् भन्दै मन्द मुस्कानमा उस्को र उस्की श्रीमतीको शिरमा दुबो र फूल राखिदिनु हुन्छ । बुबाले त्यसो भनेर आशीर्वाद दिंदा उस्ले बुबाको मुहारमा हेरेको हुन्छ । उमेरले ८ दशक भन्दा बढि भई सकेका उस्का बाबुको आँखामा पनि आँशु संकलन भई सकेको देख्छ । आँखाको आँशुलाई आँखामा नै संकलन गरी तल झर्न दिनु हुन् । हिड्ने बेलामा आँशुले होईन हाँसोले बिदाई गर्नु पर्छ भन्ने कुरा बुबालाई आफ्नो ३ दशकको प्रदेशी जिवनको भोगाईले सिकाएर होला बुबाका आँशुले नयनको मात्र स्पर्श गरे परेलीका नगरेका भन्ने सोच्छ । अनि बुवालाई ढोग गर्दछ । त्यसपछि आमाले टीका लगाउन भनि अघि आँउनुहुन्छ र टिका लगाईदिनु हुन्छ । आमाले बाबु राम्रोसँग जानु कहिँ कतै बाधा अबरोध नपरुन आटेको ताकेको पुरा होस् घरको चिन्ता नलिनु भन्नु हुन्छ र आमालाई पनि ढोग गर्दछ । उस्ले यसो आमाको मुहारमा हेर्दछ । आमाले यति भन्दा नभन्दै उस्का आँखा आँसुले भरि सकेका थिए । आमाको आँखाबाट आँसुका धारा तररै बगी रहेको देख्दछ । त्यसपछि उस्ले उस्की प्यारी तिर आँखा लगाउछ तर श्रीमतीले आँखामा आँखा जुधाउन सकिनन् उनि घोप्टो परेर आफ्नो आँखाको आँशुको बाछिटो पुस्दै थिईन् एवम रितले उस्लाई र उस्की श्रीमतीलाई त्यहाँ उपस्थित उस्का परिवारका सदस्यहरु हजुरआमा, दाजुभाउजु, दिदीबहिनी सबैले टीका लगाई बिदाईको शुभकामना दिन्छन् । उस्ले पनि आफ्नो छोरी र भानिजहरुलाई टीका लगाई दिन्छ । उसले र उस्की श्रीमतीले सबै उपस्थित परिवारका सदस्यहरुलाई नातासम्बन्ध अनुसारको अभिवादन गर्दछन् अनि उस्की छोरी आफ्नो बुवा र आमाको बिदाईको निम्तो हेर्न गह भरी आँशुपार्दै आफ्नी जेठी फुपुको काखको आढ लगाउन पुग्दछे र एकोहोरो उनिहरु तिरै हेर्दछे । उ भने अनेकौं रंगिन सपना सजाउदै मन मुटु गाँठो पर्दै जानका लागि तयार हुदैथियो । उस्ले मनमनै सोच्न थाल्दछ आखिर मेरो पनि रहर त होइन बाध्यता अनि यो समय र परीस्थितिले निम्त्याएको खेल हो । देशमा सुशासन हुन्थ्यो, विधिको शासन हुन्थ्यो, पौरख र पसीनाको कदर हुन्थ्यो, राजनीतिक स्थायीत्व हुन्थ्यो, रोजगारीको अवसर हुन्थ्यो, राणा शासन पछि प्रजातन्त्र, प्रजातन्त्रपछि पञ्चायत, पञ्चायत पछि बहुदल र बहुदल पछि गणतन्त्र स्थापनाको महत्व हुन्थ्यो र बुझ्दथे भने आज म जस्ता लाखौं बाबुहरु तिमीहरु जस्ता कलिला तामाका मुना जस्ता छोराछोरीहरुलाई छोडेर विदेश हिड्नु पर्दैनथ्यो । देश र जनताले निष्ठावान र सत्कर्म समर्पण गर्ने नेता पाँउदथ्यो भने झिसमिसेमा भाले नबास्दै कुम्लो बोकेर हिड्नु पर्दैनथ्यो । जुन दिनसम्म यो देशमा राजनीतिक स्थायीत्व हुँदैन् र देशले सच्चा इमान्दार राजनेता पाँउदैन्, चाकरीवादको अन्त्य हुँदैन, विभेदीकरणको अन्त्य हुँदैन, शिक्षा र क्षमता अनुसारको श्रमको सम्मान हुदैन् त्यस दिनसम्म तिमीहरु जस्ता बालकहरुले पैसासँग प्रदेशी भुमिमा आफ्नो बुबा र बुबाको पसिना साट्नु पर्ने हुन्छ । अब यो कुप्रथाको अन्त्य हाम्रो पालामा त सम्भव भएन छोरी तिमीहरुको पालामा यस कुप्रथाको अन्त्य जसरी पनि गर्नु । तिमी जस्तै सम्पुर्ण बालक छोरी र छोराहरुलाई मेरो आशीर्वाद र अनुरोध छ छोरी भन्दै छोरीतिर हेर्दै तयार बन्दै आफ्नो झोला बोकी बाहिर आँगनमा निस्कन्छ । सबैले उस्लाई एकनाशले हेरी रहेका हुन्छन् । उस्को आँखा एकाएक फेरी आफ्नो जेठा दाजुको आँखासँग जुध्न पुग्दछ । लगतै दाजुको समिपमा जान्छ तर उस्ले केही भन्न पनि सक्दैन् र दाजुले पनि केही भन्न सक्नु हुन्न तर दुबै दाजुभाईका ओठले एकअर्कालाई केही भन्न चाँही खोजेका हुन् तर सक्दैनन् । दाजु र भाई एकअर्कालाई गरल्याम्म अंगालो मार्दछन् र दाजुले भाईको र भाईले दाजुको पिठ्युँमा ढ्याप मार्दछन् र दाजुले राम्रोसँग जानु भन्नु हुन्छ र भाईले हवस् भनि अँगालोबाट छुटिन्छन् र दाजु हातमा प्रणाम गर्छ । घर आगाडी माईक्रोबस काठ्माण्डौं जानको लागी आईसकेको हुन्छ । उ बिदाईका हात हलाउदै हलाउदै आँखा भरि आँसु नै आँसु बनाउदै आफ्नी श्रीमतीलाई साथमा लिई माईक्रोबस तिर लाग्दछ । एकचोटी फर्केर घर तिर हेर्छ परिवारका सबै सदस्यहरुले बिदाईका हातहरु हल्लाई रहेका थिए उस्ले माईक्रोबसको झ्याल लगाउँछ । आफ्नो आँखाको आँशु रुमालले पुछि त्यहि रुमालले श्रीमतीको पनि आँशु पुछि दिन्छ र चालकलाई यात्रा सुचारु गर्ने अनुमति दिई प्रदेश जानको लागी काठ्माण्डौ प्रस्थान गर्दछ ।
लेखक : ढकाल एसपी
नेपाल ठेगाना : गैडाकोट ११, भेडाबारी, नवलपुर
हाल : टोकियो, जापान
तपाइँको प्रतिक्रिया