चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक

काठमाडौं, भदौं ८
चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापारघाटा १० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यहि अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको हो । सरकारको आयात निरुत्साहित गर्ने सरकारी मौद्रिक नीति, बैंकहरूमा तरलता अभाव, बढ्दो महँगी लगायतले आयात घटेको अनुमान गरिएको छ ।
भन्सार विभागका अनुसार यसपालि साउनमा पोहोर साउनको तुलनामा आयात १३ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार २०७९ साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
पोहोर साउनको वस्तु आयात १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबर थियो । साउनमा निर्यात पनि २८ दशमलव ६८ प्रतिशतले घटेको छ ।
२०७८ साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यो साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको मात्र निर्यात भएको छ ।
आयात घटेपछि व्यापारघाटा पनि कम भएको छ । २०७९ साउनमा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ बराबर व्यापारघाटा छ । पोहोर साउनको व्यापारघाटा १ खर्ब २९ अर्ब ९६ करोड थियो ।
सरकारले पनि गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, तयारी मदिरा, महँगा मोबाइल र टेलिभिजन, बच्चाका खेलौना, खेल्ने तास, कुरकुरे–लेजजस्ता खानेकुरा, बढी क्षमताका मोटरसाइकललगायत १० वस्तुको आयातमा रोक लगाएको छ । प्रतिबन्धको म्याद यही भदौ १४ गतेसम्म छ ।
अत्यधिक आयातका कारण शोधनान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्न थालेपछि राष्ट्र बैंकले पोहोर पुसमा आयात निरुत्साहित गर्ने नीति लिएको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै बैंकहरूले कर्जा लगानी बन्द गरेकाले पनि आयात प्रभावित भएको अनुमान गरिएको छ । सरकारले साउनमा वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया