चितवनको गैँडा जोगाउन बर्दियामा कडा निगरानी

चितवन, २५ असार ,चितवन निकुञ्जबाट बर्दिया बबई भ्यालीमा स्थानान्तरण गरिएका जोगाउन निकुञ्जले कडा निगरानी थालेको छ ।
२०४२ सालदेखि २०५९ को बीचमा स्थानान्तरण गरिएका ८३ वटा गैँडा शिकारीले सखाप पारेपछि अहिले गैँडा जोगाउन निकुञ्जका अधिकारी र नेपाली सेनाको सुरक्षा दस्ता पारिचालन गरिएको छ ।पछिल्लो पटक विश्व वन्यजन्तु कोषलगायत विभिन्न संघसंस्थाको सहयोगमा २०७२ साल फागुनको दोस्रो साता एक गर्भिणीसहित पाँचबटा गैँडा चितवनबाट स्थान्तरण गरी बबई भ्यालीमा छाडिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा उनीसहित ८ जना र नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा अर्को टोलीले गैँडाको दैनिक निगरानी गर्ने गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।
गैँडालाई चोरी शिकारीको हातबाट मर्न नदिन उच्च सर्तकतासँगै बासस्थान सुधार र आहार व्यवस्थापनको कामलाई पनि सँगसँगै अगाडि बढाइएको छ । निगरानीको लागि चार वटा गैँडाको घाँटीमा रेडियो कलर जडान गरिएको छ ।
निगरानीमा खटिएका कर्मचारीहरुले दैनिक जङ्गलमै गएर रेडियो सेटबाट गैँडाको अवस्था बुझ्ने गरेको प्रमुख संरक्षण अधिकृत थापाले बताए । चितवनबाट स्थान्तरण गरिएको एक पोथी गैँडाले जेठ ९ गते बच्चा जन्माएको थियो । पोथी गैँडा र बच्चाको सुरक्षाको लागि निकुञ्जका अधिकारीहरु बबई भ्यालीमा खटिएका छन् ।
बच्चा जन्मिएपछि एकातर्फ हौसला थपिदिएको छ भने संरक्षणमा थप प्रभावकारिता अपनाउनुपर्ने अवस्थालाई औँल्याइदिएको छ । कडा निगरानीका बीच गैँडा जोगाउन अठोटका साथ निकुञ्ज र नेपाली सेवाको सहकार्यमा काम भइरहेको प्रमुख संरक्षण अधिकृत थापाले बताए ।
पहिला दुई वटामात्र सुरक्षा पोष्ट रहेको बबई भ्यालीमा अहिले ९ वटा सुरक्षा पोष्ट बनाइएको छ । गैँडाको सुरक्षाकै लागि सुरक्षा पोष्ट बढाइएको हो । गैँडाको सुरक्षाको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले पनि सहयोग गरिरहेको छ । बासस्थान र आहार व्यवस्थापनको लागि गैँडालाई सबैभन्दा बढी मनपर्ने भेल्दरको दुई हजार बोट रोपिएको छ । गैँडाले मन पराउने त्यसका दाना दुई ट्याक्टर लगेर जंगलमा छरिएको छ । गैँडाको लागि बबई भ्यालीमा १२ वटा पानी पोखरी बनाइएको छ ।
बाबियाचौरमा सोलार पम्पबाट पनि पानी तानेर सीमसार बनाइएको छ ।
विभिन्न क्षेत्रमा घाँसे मैदान बनाएर बासस्थान संरक्षणमा ध्यान दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापाले बताए । बर्दिया निकुञ्जको ६०० हेक्टरमा घाँसे मैदान व्यवस्थापन गरिएको छ ।
यहाँको शिवपुर, ठूलो शीर, सानो शीर, चित्तले, गुठी, रातमाटे, बाबियाचौरलगायत क्षेत्रमा घाँसेमैदान बनाइएको छ । विसं २०६३ सालसम्म बबईमा तीनवटा गैँडा थिए । दुई वर्षमा ती गैन्डा पनि शिकारीको निसानामा परेपछि विसं २०६५ मा बर्दियामा गैँडा शून्य भएको थियो ।
२०६५ पछि अहिले गैँडा स्थानान्तरण गरिएको हो ।
बर्दियामा किन शिकारीले सजिलै गैँडा मार्न सक्छ रु यसको सामधान के हुनसक्छ रु भन्ने कुराको राष्ट्रियस्तरमा बहस गरी संरक्षणको उपायसहित चितवनबाट गैँडा स्थानान्तरण गरिएको विश्व वन्यजन्तु कोष नेपालका कार्यक्रम निर्देशक तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन शिवराज भट्टले बताए ।
बबई भ्याली पहाडी र समथर मिसिएको क्षेत्र हो । बबई नदीको उत्तर र दक्षिणी क्षेत्रमा ठूला– ठूला पहाड छन् । बर्दियाको संरक्षणको मुख्य चुनौती नै पहाडी क्षेत्र हो । विगतमा सो क्षेत्रमा संरक्षणकर्मीहरुको पहुँच पुग्न सकेन ।
जसका कारण शिकारीलाई गैँडा मार्न सजिलो भयो । आहार र वासस्थानको अभावले गैँडा भौतारिँदै हिँड्नेक्रममा शिकारीको फन्दामा फस्ने गरेको कार्यक्रम निर्देशक भट्टले बताए ।
‘अहिले गैँडा जोगाउन सबै रणनीति प्रयोग गरिएको छ’ उनले भने– ‘यसको नतिजा के आउँछ समयले बताउँछ ।’
यसअघि सन् २०१५ को गैँडा अनुगमनमा नेपालमा ६०५ गैँडा रहेको देखिएकामा बर्दियाको कर्णली नदी तटीय क्षेत्रमा मात्रै २९ गैँडा थिए । स्थानान्तरण र जन्मिएको बच्चासहित औपचारिक रुपमा यहाँ गैँडाको संख्या ३५ पुगेको छ ।
अवैध हतियार बुझाइयो
बबई भ्यालीका गँंडा मार्न प्रयोगमा आएका अबैध हतियार त्यहाका बासिन्दाले बर्दिया निकुञ्जलाई बुझाएका छन् । सुर्खेत जिल्लाको लेखपराजुल, हरिहरपुर, तरङ्गा र छिचु गाविसका बासिन्दाले घरमा राखेरका हतियार बुझाएका हुन् ।
घरघरमा रहेका अवैध हतियार गैँडा मार्न प्रयोग भएको हुनसक्ने आशंकामा निकुञ्जले हतियार बुझाउन अनुरोध गरेको थियो । सन् २०११ देखि २०१५ को बीचमा २४० वटा हतियार त्यहाँका बासिन्दाले निकुञ्जलाई बुझाएको प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।
‘२४० वटा हतियार बुझाउनु भनेको बबईको संरक्षणका ठूलो सफलता हो’ उनले भने– ‘अब बर्दिया गैँडा जोगाउज सफल भइसक्यो ।’ हतियार बुझाएकाहरुलाई निकुञ्जले आयआर्जनको लागि तालिम लिएर प्रत्येक घरधुरीलाई १० हजार रुपैयाँ सहयोग गरेको उनले बताए ।
तपाइँको प्रतिक्रिया