चितवनको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमोदय मा.वि.लाई

चितवन, २४ असार
चितवनको भरतपुरमा सञ्चालित ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भीमोदय माविले जितेको छ । कालिका नगरपालिकामा रहेको भीमोदय माविले १० वटा स्वर्ण पदकसहित २१ वटा पदक जित्दै पहिलो भएको हो । भीमोदय माविले रनिङ शिल्ड सहित १५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सो प्रतियोगितामा तेक्वान्दोको खेल खेल्न बाँकी नै रहेको छ । तेक्वान्दोका लागि ६ वटा स्वर्ण पदक रहेका छन् । तेक्वान्दो प्रतियोगिता भइरहेको अवस्थामा दोस्रो स्थानमा चार वटा स्वर्ण सहित शोमेश्वर मावि तथा तीन वटा स्वर्ण सहित माडी मावि र द्वारिकादास मावि तेस्रो स्थानमा रहेका छन् । तेक्वादोको अन्तिम नजिता आएपछि मात्रै प्रतियोगिताको दोस्रो र तेस्रो विद्यालय घोषणा गरिने जिल्ला खेलकुद विकास समितिका चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । प्रतियोगितामा पहिलो भएको भीमोदय माविलाई जिल्ला समन्वय समिति चितवनका प्रमुख एवम् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक कृष्णकुमार डल्लाकोटी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, सिमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामालगायतले पुरस्कार प्रदान गरेका थिए ।
तपाइँको प्रतिक्रिया