चितवनबाट १ हजार ३१४ महिला–बालबालिका हराए

६ जेठ ,चितवन।
जिल्लामा विगत ५ वर्षमा १ हजार ३ सय १४ जना हराएका छन्। जसमा सबैभन्दा बढी महिला रहेका छन्।
महिला ७ सय ५४ जना छन् भने ४ सय ४५ जना बालबालिका र पुरुष १ सय १५ जना रहेका छन्। जसमध्ये हालसम्म ४ सय १५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २ सय २३, बालबालिका १ सय ६१ र पुरुष ३१ जना रहेका छन्। चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन्।
विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उनले बताए। महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताए।
कार्यालयका अनुसार चितवनमा चालु आवको १० महिनामा २ सय १० जना हराएका छन्। जसमध्ये ७० जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार हराएकामध्ये सबैभन्दा बढी महिला १ सय ३४ जना रहेका छन्। यस वर्ष भने हराउनेमा महिला पछि पुरुष र बालिका रहेका छन् । पुरुष ३३, बालिका २३, र बालक २० जना हराएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
यस्तै आव ०६८/६९ मा २ सय ११ जना, आव ०६९/७० मा ३ सय १३ जना, आव ०७०/७१ मा ३ सय ४८ जना र आव ०७१/७२ मा २ सय २२ जना हराएका छन् । रासस
तपाइँको प्रतिक्रिया