चितवनमा घरजग्गाको कारोबार बढ्यो

नाकाबन्दीको समयमा समेत चितवनमा घरजग्गाको कारोबार बढेको छ । भूकम्पबाट काठमाडौँसहित पहाडी जिल्ला प्रभावित हुनु र तराईमा मधेस आन्दोलनका कारण बसोबासका लागि कठिन बनेसँगै जग्गामा लगानी गर्ने अधिकांशको गन्तव्य चितवन बनेको तथ्याङ्कले देखाएको छ । मालपोत कार्यालयका अनुसार चालु आवको पाँच महिनामा जग्गा रजिस्टे«सनका लागि १७ हजार ४६६ लिखत पास भएका छन् । सो सङ्ख्या आव २०७१÷७२ भन्दा तीन हजार ४२० बढी हो । चालु आवमा घरजग्गा रजिस्ट्रेसन लिखत १३ हजार २६९, कर्जा लिखत चार हजार २०७ रहेको छ भने गत आवमा घरजग्गा रजिस्टे«सन लिखत आठ हजार ८१० र कर्जा लिखत पाँच हजार २३६ रहेको कार्यालका सूचना अधिकारी हरिकृष्ण सुवेदीले जानकारी दिए । चालु आवको पाँच महिनामा मात्रै राजस्व सङ्कलनमा १८८ दश्मलव ८४ प्रतिशतले वृद्धि भएको छ । ‘सरकारले पाँच महिनाका लागि दिएको लक्ष्य १४ करोड ५६ लाख २२ हजार रूपैयाँ थियो तर ३३ करोड २२ लाख पाँच हजार ४२३ रूपैयाँ सङ्कलन भएको छ’ उनले भने । घर जग्गा रजिस्टे«सनतर्फ २७ करोड ४९ लाख ९८ हजार, पूँजीगत लाभ करमार्फत तीन करोड १६ लाख २५ हजार रूपैयाँ सेवा दस्तुरबापत दुई करोड २९ लाख ५४ हजार रूपैयाँ र अन्य सेवाबापत गरी उक्त राजस्व सङ्कलन भएको हो । आव २०७१÷७२ को मङ्सिरसम्ममा १५ करोड ४७ लाख मात्र राजस्व सङ्कलन भएको थियो । प्रवक्ता सुवेदी वर्षेनी केही मात्रामा जग्गा खरिद बिक्री बढ्दो क्रममा रहेको बताउँछन् । सुरक्षित बसोबासस्थलका रुपमा परिचित भएसँगै जिल्लामा कारोबार बढेको व्यवसायीको भनाइ छ । नारायणी जग्गा विकास कम्पनीका संस्थापक अध्यक्ष दिनेशकुमार चुके पहाड तराई सबै क्षेत्रका बासिन्दाका लागि चितवन उपयुक्त ठहरिएकाले घरजग्गाको कारोबार बढेको बताउँछन् । ‘छोटो समयमा राम्रो प्रतिफल आउने भएकाले यसतर्फ आकर्षण बढेको हो’ उनले भने । शिक्षा, स्वास्थ्य, पर्यटन, धार्मिक क्षेत्र, सुगमतालगायतका कारण जिल्लाप्रतिको आकर्षण बढ्दा घरजग्गाको कारोवारमा वृद्धि भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कल्याण जोशीको भनाइ छ ।
तपाइँको प्रतिक्रिया