चितवनमा दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने

चितवन, २३ मंसिर ।
विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन् । कोभिडका कारण गत वर्ष चितवन महोत्सव हुन नसकेपछि यस वर्ष रत्ननगर महोत्सव सँगै चितवन महोत्सव हुन लागेको हो । दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य संघ–चितवन र रत्ननगर उद्योग वाणिज्य संघले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो गर्दै महोत्सव आयोजना गर्दै आएका छन् । विसं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ । सोही निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सव भएको थियो । यस वर्ष आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ ।
चितवन महोत्सव नारायणी नदी किनारमा र रत्ननगर महोत्सव टिकौली चौरमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवबारे जानकारी दिन दुवै उद्योग वाणिज्य संघले संयुक्तरुपमा बिहीबार पत्रकार सम्मेलन गरेका थिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको बताउनुभयो । गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको जनाउँदै उहाँले सल्लाहमा नै मिति तय भएको जानकारी दिनुभयो । एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरी काम अघि बढेको उहाँको भनाइ छ । उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुई संस्थाले फरक फरक वर्षमा महोत्सव गर्ने सम्भावना नरहेपछि सँगसँगै सहकार्य गरेर महोत्सव गर्न लागिएको बताउनुभयो ।
चितवन महोत्सवमा ३५० कक्ष हुनेछन् । विगत वर्षहरुमा महोत्सवमा ५९० कक्षसम्म राखिएको भए पनि कोभिडका कारण संख्या घटाइएको वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । विगतको तथ्यांकलाई हेर्दा चितवन महोत्सवमा रु पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो । पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पाँच सय ५० कक्ष रहने रत्ननगर महोत्सवमा पनि यस वर्ष ३५० मात्रै राखिँदै छन् । चितवन महोत्सवको यो १३ औँ संस्करण हो भने रत्ननगर महोत्सवको ११ औँ संस्करण हो ।
तपाइँको प्रतिक्रिया