चितवनमा दोस्रोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण

चितवन, ३१ असार ।
चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजले दोस्रोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । गत चैत ९ गते पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरेको मेडिकल कलेजले असार १८ गते दोस्रो पटक पनि कलेजोको सफल प्रत्यारोपण गरेको हो । विगत ९ वर्षदेखि कलेजो रोगबाट पीडित जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको झण्डै १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । उहाँलाई धर्मपत्नी ४८ वर्षकी कमलादेवी शाहीले कलेजो प्रदान गर्नुभएको थियो । कलेजका विषेशज्ञ शल्य चिकित्सकहरू सर्जन डा. सञ्जय कुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्त कुमार शाह, हेपाटोलोजी डा. सागर पौडेललगायतको टिमले कलेजोको सफल प्रत्यारोपण गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अहिले अस्पतालमा दैनिक १५ देखि २० जनासम्म कलेजोका बिरामी आउने गरेकोमा सात जना बिरामीको कलेज प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको छ ।
दूषित पानी र खानाका साथै हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण कलेजोमा समस्या देखिने गरेको छ । नियमित अल्कोहल सेवन गर्ने व्यक्तिहरुमा १० देखि १५ बर्षपछि कलेजो बिग्रने भन्दै चिकित्सकहरुले मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने बताएका छन् । मानव शरिरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने भएकाले त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुने चिकित्सकहरुको भनाइ छ । कम्तिमा पनि वर्षमा एक पटक कलेजको अवस्था के छ भनेर जाँच गराउनु अति नै राम्रो रहेको चिकित्सकहरु बताउँछन् ।
कलेजो आफै विकसित हुने अंग भएकोले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै यो बिरामीको शरिरमा आफै विकसित हुने भन्दै करिब छ महिनामा झण्डै ९० प्रतिशत कलेजोको विकास हुने बताइएको छ । पारिवारिक सदस्यबाट मात्रै कलेजो दान गर्नुपर्ने तथा आर्थिक अवस्थाका कारण सबैले कलेजो प्रत्यारोपण गर्न नसक्ने अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताउनुभयो । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि अस्पताललाई १५ लाख रुपैयाँ तथा औषधिलगायत अन्य खर्चका लागि १५ लाख गरी ३० लाख रुपैयाँसम्म खर्च हुने देवकोटाले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया