चितवनमा निषेधाज्ञा थप, सार्वजनिक सवारीलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय

चितवन, २३ असार ।
सार्वजनिक सवारीलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने गरी चितवनमा एक हप्ता निषेधाज्ञा थपिएको छ । भोलि राति १२ बजेदेखि लागू हुने गरी असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । चितवनका सीडीओ प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिइने उल्लेख छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने, चालक सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमण गर्ने सर्त पालना गरेपछिमात्रै जोर–बिजोर प्रणालीमा सवारी चलाउन पाउने आदेशमा उल्लेख छ ।
अत्यावश्यक सवारी, खाद्यान्न, निर्माण सामाग्री ढुवानी गर्ने, मालवाहक सवारीसाधन, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी भने चल्न पाउने छन् । राजमार्ग भई अन्य जिल्लामा जाने सवारीहरु पनि चल्न पाउने छन् । यसअघि चितवनमा बढीमा ३ जनासम्म यात्रु राखेर चलाउन पाइने गरी अटोरिक्सा र ट्याक्सी सञ्चालनमा १६ गतेनै खुकुलो पारिएको थियो । पसलहरु विहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् । यसअघि आलोपालो र समयसीमा तोकेर पसल खोल्ने व्यवस्था थियो । खाजाघर, रेष्टुरेण्ट, मिठाई पसलबाट टेकअवे र होमडेलिभरी विहान ११ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने उल्लेख छ । तर, सिनेमा, पार्टी प्यालेस, व्युटिपार्लर, सैलुन खोल्न पाइने छैन
तपाइँको प्रतिक्रिया