चितवनमा पछिल्लो समय खाना पकाउने ग्यासको आपूर्ति केही सहज बन्दै

चितवनमा पछिल्लो समय खाना पकाउने ग्यासको आपूर्ति केही सहज भएको छ । मंसिर, कार्तिक, असोज र भदौ महिनाको तुलनामा आपूर्ति सहज बन्दै गएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । अहिले चितवनमा प्लान्ट भएका ७ वटा ग्यास उद्योगले दैनिकजसो नियमित रुपमा डिलरहरुमार्फत ग्यास वितरण गरिरहेका छन् । स्थानीय प्रशासनको समन्वय र जनताको मागका आधारमा प्राथमिकता दिएर वितरण गरिएको प्रजिअ सिंहले बताए । प्रशासनले ग्यास सहज हुँदै गएको बताए पनि पसलपसलमा ग्यासको लाइन उत्तिकै छ । उपभोक्ताले अझै पनि सहज रुपमा ग्यास पाउन नसकेको प्रष्ट देखिन्छ । ‘अहिले दैनिक हजार बढी ग्यास वितरण भएको अवस्था छ, प्रजिअ सिंहले भने, ‘पहिले स्थानीयको आवश्यकता हेरेरमात्र अन्य जिल्लामा पठाउन उद्योगीहरुलाई आग्रह गरेका छौँ ।’ चितवनपछि प्राथमिकताका आधारमा राजधानी काठमाडौंमा ग्यास पठाउने गरिएको व्यवसायीको भनाइ छ । चितवन प्रशासनका अनुसार हालसम्म १ लाख सिलिण्डर ग्यास वितरण गरिसकिएको छ । प्राप्त जानकारीअनुसार सबैभन्दा बढी साइबाबा ग्यास २४ हजार ५२३ वटा वितरण भएको छ । त्यस्तै बाबा ग्यास १५ हजार ५५१ वटा, नारायणी ग्यास, १९ हजार ७१३ वटा, लुम्बिनी ग्यास १९ हजार ६८४ वटा, लोकप्रिय ग्यास ३ हजार ३३८ वटा, एचपी ८ हजार ७७५ वटा, जानकी ९ हजार ४१६ वटा र सहारा ग्यास १ हजार ८२ वटा वितरण भएको छ । बाबा, साइबाबा, नारायणी, लुम्बिनी, जानकीलगायतका ग्यासहरु चितवन बाहिर राजधानी, धादिङ, तनहुँ, कास्की, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा वितरण गरिएको छ । जाडो समयमा ग्यासको खपत बढी हुने गरेकाले पनि माग बढेको व्यवसायीहरु बताउँछन् । सीमानामा नाकाबन्दी खुकुलो भएपछि ग्यास बुलेटहरु आएकाले ग्यास वितरण सहज हुँदै गएको नारायणी ग्यासका सञ्चालक राजेन्द्र बुर्लाकोटीले बताए । ‘पहिलेको तुलनामा अहिले धेरै सहज भएको छ, उनले भने, ‘हप्तामा २ वटा बुलेट आएको छ ।’ स्थानीय प्रशासनसँग समन्वय गरी ग्यास वितरण गरिएको सञ्चालक बुर्लाकोटीले बताए । सुरुको अवस्थामा उद्योगबाटै ६ हजार बढी ग्यास वितरण गरिए पनि हाल प्रशासनको आदेशमा आवश्यक ठाउँमा मात्र ग्यास वितरण भएको उनले जनाए । चितवन प्रशासनले अहिले सार्वजनिक सूचना नै जारी गरेर कुन पसलमा केकति ग्यास वितरण हुँदैछ भन्नेबारे जानकारी दिने गरेको छ ।
तपाइँको प्रतिक्रिया