चितवनमा पुस १५ गते धुमधामसँग तमू ल्होसार मनाइने

चितवन, १३ पुस । विगतका वर्षमा जस्तै यस वर्ष पनि चितवनमा धुमधामसँग तमू ल्होसार मनाइने भएको छ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले पुस १५ गते शुभकामना आदानप्रदान गर्दै तमू ल्होसार मनाउने भएको हो ।
तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले तमूहरुको नयाँ वर्षको रुपमा मनाइने ल्होसार पवलाई चितवनको भरतपुर २ स्थित तीनखोले गुम्बामा रहेको महाबौद्ध गुम्बा परिसरमा मनाउँदैछ । पुस १५ गते गुम्बामा विश्वशान्ति र मानवकल्याणको कामना गर्दै पूजा–अर्चना, ग्रहशान्ति, शुभकामना आदानप्रदान गर्ने तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले बताउनुभयो ।
सो अवसरमा गुम्बा परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण, सम्मान साथै खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले बताउनुभयो । हर्षोल्लास एवं भव्यताकासाथ मनाउने जिल्लास्तरीय कार्यक्रममा सम्पूर्ण तमु समुदायका व्यक्तिहरु सहभागी भइ तमू ल्होसार पर्व २०७८ सफल पारिदिनका लागि अनुरोध गरिएको छ ।
एक वर्ग चक्र (ल्होकर) पूरा गरी यस वर्ष पुस १५ देखि लोंल्हो (गाई वर्ग) जाने र तोल्हो (बाघ वर्ग) को आगमन हुने हुँदा तोल्होलाई स्वागत गर्दै ल्होसार मनाउने गरिन्छ । चितवनका गुरुङ समुदायका व्यक्तिहरु विभिन्न राजनीतिक पार्टीको वडादेखि केन्द्रसम्म नेतृत्वमा पुगेकाहरुलाई ल्होसारका अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको हुँदा सबैलाई सो कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको छ ।
तपाइँको प्रतिक्रिया