चितवनमा स्थानिय तह के कति ?

चितवन ७ , चितवनमा कायम रहने स्थानीय तह अर्थात गाउँपालिका, नगरपालिकाहरु आठ वा नौंभित्र रहनुपर्ने नयाँ मापदण्ड तय भएको छ । स्थानीय तह पुर्नसंरचना आयोगले सुरूमा बढीमा आठवटा स्थानीय तह कायम हुनुपर्ने मापदण्ड तोकेको थियो । तर, जिल्लाका दलहरुले चारदेखि १२ हुनुपर्ने अडान राख्दै आएका छन् । आयोगले शुक्रबार नयाँ मापदण्ड र संख्या तोकेर पठाएको हो । आयोगले चितवनमा कायम रहने स्थानीय तहको संख्या बढीमा आठ निर्धारण गरे पनि जिल्लाका राजनीतिक दलहरुले १२ सम्म हुनुपर्ने सुझाव दिएकोे प्रतिवेदन गएको भदौं २६ मा चितवन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले आयोगमा बुझाउनुभएको थियो । आयोगको नयाँ मापदण्ड अनुसार स्थानीय तह निर्धारणका लागि छलफल आरम्भ गर्न चितवन जिल्ला विकास समितिले आह्वान गरेको छ । स्थानीय विकास अधिकारी स्थानीय तह निर्धारणका विषयमा जिल्लाको प्राविधिक समितिको संयोजक रहने प्रवधान छ । प्राविधिक समितिले चितवनको स्थानीय तहको बारेमा छुट्टै खाका तयार गरेको छ । चितवनमा हाल पहाडमा आठ गाविस छन् । त्यो बाहेक एक उपमहानगरपालिका सहित आठ नगरपालिका छन् । तर, प्राविधिक समितले आठ पहाडी गाविसमध्ये चाररचार वटालाई मिलाएर दुई गाउँपालिका बनाउन सिफारिस गरेको थियो । त्यस्तै, आठ नगरपालिकामध्ये कम्तिमा तीन र बढीमा पाँच नगरपालिका बनाउन सकिने खाका स्थानीय प्राविधिक समितिले तय गरेको थियो । तर दलहरुको यो भन्दा फरक अवधारणा आएका कारण प्राविधिक समितिका दुई खाकासहित दलहरुले पेस गरेको अवधारणसमेत स्थानीय तह पुर्नसंरचना आयोगलाई बुझाइएको थियो । संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । संविधानले व्यवस्था गरेको अवधारणा अनुसार स्थानीय तहको संख्या धेरै हुन नहुने ठहर गर्दै आयोगले देशभर छ सयभन्दा कम स्थानीय तहको अवधारणा ल्याएको थियो । तर, केन्द्रका मुख्य दलहरुले पनि स्थानीय तहको संख्या प्रति फरक मत राख्दै आएका थिए । स्थानीय तहको सख्या, सिमाना र नाम नजुर्दासम्म चुनाव हुन सक्दैन । चितवनमा एउटा चेपाङ स्वायत्त गाउँपालिकाको पनि सिफारिस भएको छ । आयोगले यसअघि तोकेको कार्य्विधिमा उल्लेख भएअनुसार गाउँपालिकामा वडाको संख्या पाँचदेखि २१ र नगरपालिकाका वडाको संख्या नौदेखि ३५ रहने छ । गाउँपालिकामा कम्तिमा तीन र नगरपालिकामा पाँचवटा बजार केन्द्रहरु रहनु पर्ने कार्य्विधिमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया