चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर बस्छु : रबि लामिछाने

चितवन, असोज २३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट लामिछानेले उम्मेदवारी दिएका हुन् ।
उनी आज दिउँसो साढे २ बजे निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनको पार्टीको चुनाव चिह्न घन्टी हो । उनका समर्थक घन्टी बजाउँदै ‘रवि दाइ हाइहाइ’ भन्दै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
सो अवसरमा संचारकर्मीसंग बोल्दै रवि लामिछानेले जीवनभर चितवनकै मान्छे हुने बताएका छन् । उनले चितवनमै घर बनाउने र चितवनबासीले लगाएको गुन तिर्ने प्रतिकृया दिएका छन् । यस्तै लामिछानेले चितवनमा पहिले आँसु बोकेर आए पनि अहिले सपना बोकेर आएको बताए । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “एउटा समय यस्तो थियो जब मलाई झुक्याएर रातारात भरतपुर चितवन पु¥याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएँ । अर्को समय आज जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन आएको छु । यसपटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु जीवनभर चितवनको मान्छे बनेर । मंसिर ४ को लागि चितवन २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिह्न घण्टी ।”
यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् ।
तपाइँको प्रतिक्रिया