चुनाव चिन्ह माग्दै ६८ दलद्वारा आन्दोलन घोषणा

३१ चैत, काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिनुभएको छ । बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने घोषणा गर्दै जानकारी गराएको छ । २ गते ६८ दलीय मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले नै रिले अनसन सुरु गर्नेछन् । साथै आवश्यकता अनुसार प्रधानमन्त्री निवास, संसद भवन लगायत घेराउ गर्ने मोर्चाले बताएको छ । ६८ दलीय मोर्चाले निर्वाचन शिक्षा लगायतका चुनावी कार्यक्रममा अवरोध गर्ने पनि निर्णय छ । पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नियोजित ढंगले संसदमा भएका दलहरुलाई मात्र चुनाव चिन्ह दिने गरी ऐन ल्याइएको दाबी गर्नुभयो । उहाले ‘केही चतुरेहरुले घुसाएर लगे । कतिसम्म भने राजपत्रमा प्रकाशित नै गरिएको छैन ।’ भट्टराईले हिम्मत भए संसद विघटन गर्न र प्रतिनिधिसभाको चुनाव गर्न चुनौती दिनुभएको छ । उहाले आफूहरुको आन्दोलनले लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्ने दाबीसमेत गर्नुभयो । दलीय चुनाव चिन्ह नदिने सरकारको निर्णयमा निर्वाचन गर्नेभन्दा कुर्सीको भागबण्डा गरेर बाँडीचुँडी खाने नियत लुकेको दाबी गर्नुभयो ।
तपाइँको प्रतिक्रिया