छाउपडि गोठमा लुकाईएकी किशोरी जस्तै गरी किन लुकाईन्छ दियालो दरवार

पौष १२ , चितवन
पर्यटन वर्ष २०२० को तयारी तिब्र पारिरहदा चितवनको एउटा ऐतिहासिक र पर्यटकिय हिसाबले निकै महत्वपूर्ण दियालो दरवारको भने कहि कतैबाट चर्चा सुनिएको छैन ।
चितवनले आफ्ना पर्यटकिय गन्तव्यहरुमा दियालो दरवार समाबेश गरेको पाईदैन भने राज्यले पनि दियालो दरबारलाई छाउपडि गोठमा लुकाईएकी किशोरीलाई जस्तै गरी लुकाएर राखेको छ ।
नेपालमा गणतन्त्र आएपछि नेपाल ट्रष्टको स्वामित्वमा रहेको यस महत्वपुर्ण र ऐतिहासिक दियालो दरबार हेर्ने अवसर नेपाली सेना र सरकारका बिशेष अधिकारी बाहेक अन्यले कमै पाउने गरेका छन् । यो दरबार नेपाली सेनाले सुरक्षा प्रदान गरि राखेको छ । सेनाकै संरक्षणमा रहने गरी पर्यटन वर्ष २०२०का लागी भएपनि यो दरबार सर्वसाधारणका लागी खुल्ला गरिनु पर्ने आवाज अहिले उठ्न थालेको छ ।
पर्यटकीय गन्तव्यका रुपमा परिचित चितवनमा रहेको दियालो दरबार सर्वसाधारणले अवलोकनको अवसर अहिले सम्म पाएका छैनन ।
राजसंस्थाको मुख्य दरबार नारायणहिटि सर्वसाधारणका लागी पार्टि समेत खान मिल्ने गरी भोजन गृहका रुपमा बिकास गरिरहदा दियालो दरबार भने लुकाईनु दुखद भएको चितवनका पर्यटन ब्यवसायीहरु बताउँछन् ।
। ऐतिहासिक महत्व बोकेको दियालो बंगाला दरवार अहिले नेपाल ट्रष्टको मातहतमा रहेको छ । सुरक्षार्थ नेपाली सेना र नेपाल ट्रष्टका सात जना कर्मचारी बाहेक अरु कोही यस दरवार परिसरमा प्रवेश समेत गर्न पाउँदैनन् । नेपाली सेनाको घेरामा रहेको जंगलभित्र एकान्तमा दियालो बंगला दरबार रहेको छ । सर्वसाधारण मात्र होइन, चितवनका सरकारी अधिकारी , जनप्रतिनिधि ,यहाका पर्यटन ब्यवसायी उद्योगी उद्योगबाणिज्य संघका पदाधीकारीहरुले समेत दरवार हेर्ने अवसर पाएका छैनन् । दरवारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवस्यक रहेको उद्योग बाणिज्य महासंघ तिन नम्वर प्रदेशका उपाध्यक्ष एवं उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष राजन गौतमको भनाई छ ।
आफुले एक पटक मात्र दरबार भित्र प्रवेश गरी सामान्य रुपमा अवलोकन गर्ने अवसर पाएको बताउँदै उहाँले यो दरबार सबै हिसावले महत्वपुर्ण रहेको र यहाको भित्रि बातावरण आफैमा पनि अति सुन्दर र मनमोहक रहेकाले पर्यटकका लागी दरबार खुल्ला गर्नु पर्ने बताउनु भयो ।
ईतिहास मेट्ने राजनितिक संस्कार भएकाले पुरानो ईतिहास भएको शाह बंसको अस्तित्व मेटाउने खेलमा राज्य लागेकोले यो पनि ओझेलमा पारिएको उहाँले बताउनु भयो । केहि शुल्क लिएर भएपनि दरवार अवलोकनको लागी खुल्ला गरिनु पर्ने उहा बताउनु हुन्छ ।
अन्तका दरबारलाई होटल सन्चालन गर्न लिजमा दिने निर्णय गर्ने सरकारले चितवनको दियालो दरबारलाई सर्वसाधारणलाई समेत प्रबेश गर्न नदिईनु दुखद भएको यहाका ब्यवसायीहरु बताउछन् ।
यो शाहबंशीय राजाहरूको शितकालीन दरवार हो । राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए । यो दरवार नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ । यो दरवारमा सबै भन्दा धेरै बस्ने राजा महेन्द्र हुन भने राजा बीरेन्द्र पनि माघेसंक्रन्तिको अबसर परेर बस्न आउने गरेको यहा कार्यरत कर्मचारीहरु बताउँछन् । त्यहाँका एक पुराना कर्मचारीका अनुसार राजा ज्ञानेन्द्र पनि यहा एक दिनका लागि आएका थिए ।
चितवन जिल्लाको नारायणगढ बजार नजिक रहेको दियालो बंगाला दरबार सर्वसाधारणका लागी खुल्ला गर्न सके यसले चितवनको पर्यटन बिकासमा महत्वपुर्ण योगदान पुग्न सक्ने दरबार आसपासका क्षेत्रमा खेलेर हुर्कनुभएका उद्योगी चन्दन अग्रवाल बताउनु हुन्छ । हाल सेनाको संरक्षणमा यो क्षेत्र रहेकाले दरबार र यसको संरक्षित भुमि भने अतिक्रमणबाट बचेको छ । दरबार नेपालि सेनाकै संरक्षणमा रहने गरी सर्वसाधारणका लागी भने खुल्ला गर्नु पर्ने ब्यवसायी रन्जन अग्रवालले बताउनु भयो ।
देवघाट क्षेत्र बिकास समिति चितवनका निर्वतमान अध्यक्ष टंकनाथ पौडेलले देवघाट जाने मुखमा दरबार रहेकाले आम सर्वसाधारणलाई पनि यहा भित्र कस्तो छ होला भन्न्ो कौतुहलता जाग्ने गरेकाले यसलाई सर्वसाधारणका लागी समय समयमा खुल्ला गर्ने ब्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया