चितवनका जनजातीले संबिधान दिवसलाई कालो दिनको रुपमा मनाउने

चितवन, भाद्र ३१
नेपाल आदिवासी जनजाती महासंघ चितवनले संबिधान दिवसलाई कालो दिनको रुपमा मनाउने भएको छ । आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले असोज ३ लाई कालो दिनको रुपमा मनाउने जानकारी दिएको हो । विभेदकारी संबिधान जारी भएको असोज ३ गतेलाई आदिवासी जनजाती, मधेसी, दलित, मुस्लिम, महिला लगायत सम्पूर्ण उपेक्षित समुदायहरुले आफुहरु प्रती गम्भीर धोका, घात र विभेद भएको दिनको रुपमा लिएको महासंघ चितवनका अध्यक्ष सुरविर थापाले बताए । सरकारले असोज ३ लाई ‘टोल टोलमा झण्डा, घर घरमा दिपावली’ नारा सहित संबिधान दिवसको रुपमा मनाईरहदा आदिवासी जनजाती लगायतका समुदायले भने कालो दिनको रुपमा मनाउने उनले बताए । महासंघले असोज ३ गतेलाई केन्द्रित गरेर आन्दोलनको बिभिन्न कार्यक्रम सहित देशैभर ‘असोज ३ कालो दिन’ को रुपमा सशक्त रुपमा बिरोध गर्ने बताईएको छ । उसले असोज ३ गते संबिधानको बिरुद्द ठाउँ ठाउँमा बिरोध र प्रतिरोध गर्ने जनाउदै सहभागी हुन सबैलाई अनुरोध गरेको छ । आदिवासी जनजाती लगायतको समुदायले संबिधानको बिभिन्न धारा तथा उपधाराहरुमा राखेको असहमतीलाई सम्बोधन गर्दै संबिधान संशोधन नभए सम्म आन्दोलनको कार्यक्रम जारी रहने महासंघले जनाएको छ । यस्तै महासंघले बिगतमा भएका सम्झौताहरु कार्यन्वयन नभए सम्म राज्यले गर्ने कुनै पनि कार्यक्रममा झाँकी, सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन नगर्न निर्देशन दिएको छ । असोज ३ गते थारु कल्याणकारिणी सभा (थाकस) चितवनले पनि बिरोध कार्यक्रम गर्ने भएको छ । जितिया पर्वको अवसरमा ३ गते बिभिन्न स्थानमा हुने कार्यक्रममै संबिधानको बिरोध गर्ने थाकस चितवनका सभापति ललित कुमार चौधरीले जानकारी दिए । उक्त दिन माडीको बरुवा, भरतपुर १७ वनगाई, भरतपुर २७ पर्साढाप र खैरहनीमा हुने जितिया बिशेष कार्यक्रमको बिच नै संबिधानको बिरोध गरिने सभापति चौधरीले बताए । आफुहरुसँग बिगतमा भएको सम्झौता बिपरित २०७२ असोज ३ गते दोस्रो संबिधान सभाबाट बिभेदकारी संबिधान जारी भएको भन्दै आदीवासी जनजाती लगायतका समुदायहरु आन्दोलित भएका हुन् । बिभेदकारी संबिधान जारी भएको ४ बर्ष बितिसक्दा पनि सरकारले माग सम्बोधन गर्नुको सट्टा उल्टै संबिधान कार्यन्वयनको बहानामा जनविरोधी ऐन कानुन बनाएर वहिस्कृत, सिमान्तकृत समुदायको जनताको उपेक्षा गरेको महासंघको ठहर छ ।
तपाइँको प्रतिक्रिया