जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भुमिका छ : प्रचण्ड

भाद्र २२, काठमाण्डौं
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताउनुभएको छ ।
बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा राम्रो उत्तराधिकारीहरु तयार होउन् भन्ने आफ्नो सपना रहेको बताउनु भयो । उहाँले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै आफूले सबै चिज भएको बताउनु भयो ।
उहाँले पार्टीलाई एकतावद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडी बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अर्थमन्त्री समेत रहनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उहाँको भनाइ थियो ।
उहाँले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनु भयो । जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भुमिका रहेको बताउनु भयो । उहाँले शर्मालाई आफूले रक्षा र विकास गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले सडक, सदन र सरकारका तीन वटा नै मोर्चाबाट संघर्ष गरेर मात्रै आन्दोलनका उपलब्धीको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताउनु भयो । उहाँले सडकको हिरो युवा र विद्यार्थीहरु भएको उल्लेख
गर्दै उनीहरु सडकमा नआउँदासम्म देशले गति नलिने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया