जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि गरे मजाक : नेपाल बार एशोसिएशन अध्यक्ष घिमिरे

काठमाण्डौं, असोज २
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभएको छ ।
आईतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निलम्वित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताउनु भयो ।
उहाँले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताउनु भयो ।
उहाँले महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताउनु भयो ।
त्यस्तै, वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भईरहेका बेला आईतबार सर्वोच्च अदालतको मूलगेटमा पुग्नु भएका उहाँले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले सो महाअभियोगको टुंगो नलगाएसम्म महाअभियुक्तको रुपमा रहेका जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने तर्क गर्नु भयो ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको दावी समेत गर्नु भयो ।
तपाइँको प्रतिक्रिया