जयश्री सामुदायिक वन, गैँडाकोटमा लागेको ताल्चा खुल्यो

गैँडाकोट ।
दुई पक्षबिच सहमती भएपछि, गत असार ३१ गतेदेखि पुर्वी नवलपरासीको गँैडाकोट स्थित जयश्री सामुदायिक वन समुहको कार्यालय तथा घाटगद्धि स्थलमा लगाएको ताल्चा खुलेको छ ।
अहिंसावादी चण्डी देउराली मौलामन्दिरमा लगाईएको तारबार हटाउने र धार्मिक पुजापाठका लागी बाधा नपुर्याउने विषयमा दुईपक्षको सहमती पछि गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको रोहवरमा ताल्चा खोलिएको हो ।
जयश्री सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार संकलन तथा वितरण घाटगद्धि स्थल सोहि स्थानमा रहने र साहि स्थानमा रहेको अहिंसावादी चण्डी देउराली मौलामन्दिरमा धार्मिक पुजापाठको लागि बाधा नपुर्याउने विषयमा सहमती पछि ताला खोलीएको वन समुहका उपाध्यक्ष दानबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ ।
गैँडाकोट तमु आदर्श गुरुङ समाज र नेपाल आदिवासी जनजाती महासंघ गैँडाकोटले ३ बुंदे माग राख्दै, अहिंसावादी चण्डी देउराली मौलामन्दिर यथास्थानमा नै कायम राखि डोजरले क्षति गरेको भाग पुर्ण रुपमा मर्मत गर्नुपर्ने , घाटगद्धि निर्माण उपसमितिका सम्पुर्ण सदस्यले राजिनामा दिनुपर्ने र मौलामन्दिर ध्वस्त पार्ने समितिले आदिवासी जनजाती समक्ष माफि माग्नुपर्ने माग अघि सारेका थिए ।
वन समितिले गल्ति स्विकार गरेसंगै सहमती बनेको हो । आदिवासी जनजाती समूदाय पनि सोही वनका उपभोक्ता रहेको र मिलेर अघि बढ्ने सहमती भएको आदिवासी तथा जनजातीले जानकारी दिएका छन् ।
तपाइँको प्रतिक्रिया