जलविद्युत् क्षेत्रमा भित्रिएको अनावश्यक राजनीतिक हस्तक्षेपका कारण सोचेजति प्रगति हुन सकेन : उर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर

उर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेपालको जलविद्युत् क्षेमा भित्रिएको अनावश्यक राजनीतिक हस्तक्षेपका कारण सोचेजति प्रगति हुन नसकेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको आईतबारको बैठकमा समितिले विगतमा दिएको निर्देशन किन कार्यान्वयन नभएको हो सांसद्को जिज्ञासामा उहाँले मन्त्री फेरिएपछि फेरिने कार्यक्रम तथा विभिन्न आयोजनामा आफ्ना मान्छे नियुक्त गर्नका लागि गरिने दृश्य अदृश्य खेलले समस्या थपेको बताउनुभयो । ऊर्जा क्षेत्रका विकासका लागि आउने कतिपय निर्णय ऊर्जा मन्त्रालयलाई पनि थाहा नहुने भन्दै उहाँले विगतदेखिको गलत प्रवृत्तिका कारण गति लिन नसकेको तथा योजनालाई निरन्तरता दिनेतर्फ कुनै पनि सोच नभएको उल्लेख गर्नुभयो । समितिको बैठकले दीर्घकालीन ऊर्जा सुरक्षा नीति बनाउन र त्यसलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । ऊर्जा सुरक्षाको विषयमा प्रभावकारी कदम चाल्न र जलविद्युत् आयोजनाको निर्माण प्रक्रियालाई गति दिनु आवश्यक छ, त्यसतर्फ सरकारले विशेष पहल गर्न निर्देशन दिईएको समिति सभापति गगन थापाले जानकारी दिनुभयो ।
बैठकमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका अध्यक्ष खड्गबहादुर विष्टले ऊर्जा क्षेत्रको पछिल्लो अवस्था, अपनाउनुपर्ने नीति तथा कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समितिको बैठकमा धारणा राख्ने अधिकाशं सांसद्हरुले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि ऊर्जा सङ्कटकाल लगाएरै भएपनि काम अगाडि बढाउन आग्रह गरेका थिए ।
तपाइँको प्रतिक्रिया