ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौँ, ७ असार ।
ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट परेको छ । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरीले सर्वोच्च अदालतमा रिट हाल्नु भएको हो । सोमबार रिट लिएर गिरी सर्वोच्च अदालत पुग्नु भएको थियो । उहाँको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ ।
ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म खोपको उपलव्धता हुन सकेको छैन । भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो छैन ।
फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।
तपाइँको प्रतिक्रिया