डिजल र पेट्रोल सहज बन्यो नवलपरासीमा, इन्धन लुकाए कारबाही गरिने प्रशासनको चेतावनी

नवलपरासीमा सहज रुपमा डिजल र पेट्रोल पाउन थालिएको छ । जिल्लाका सबैजसो पेट्रोल पम्पहरुबाट इन्धन पाउन थालिएको हो । इन्धन भएर पनि व्यवसायीहरुले कालोबजारी गर्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नाप तौल विभाग, उपभोक्ता हित संरक्षण मञ्च र जिल्ला प्रशासनका प्रतिनिधिहरुको टोलीले परासी क्षेत्रका पम्पहरुमा अनुगमन गरेपछि इन्धन सहज रुपमा पाउन थालिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताउनुभयो । अनुगमनका क्रममा सबै पेट्रोल पम्पलाई सचेत गराएपछि इन्धन सहज बन्दै गएको हो । इन्धन भएर पनि उपभोक्तालाई छैन भनेर फर्काउने कारबाही गरिने उहाँले बताउनुभयो । नवलपरासीमा डिजल र पेट्रोल सहज बन्यो । इन्धन लुकाए कारबाही गरिने प्रशासनको चेतावनी जिल्लामा दैनिक जसो एक लाख ५० हजार लिटर इन्धन आउने गरेको प्रशानसले जनाएको छ । जसमा पेट्रोल २४ हजार र डिजल एक लाख २० हजार लिटर छ । परासी क्षेत्रमा ३८ र नवलपुर क्षेत्रमा १६ वटा पम्पहरु छन् । प्रशासनका अनुसार परासी क्षेत्रमा रुपन्देहीस्थित आयल निगमको भलवारी डिपो तथा नवलपुर क्षेत्रमा अम्लेखगञ्जबाट इन्धन ल्याउने गरिएको छ । एउटा पेट्रोल पम्पलाई ३ हजारदेखि ९ हजारसम्म इन्धन दिने गरिएको छ ।
तपाइँको प्रतिक्रिया