तीन दलद्धारा गठित वार्ता टोलीले गरेको आग्रह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा अस्वीकार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा धर्नासहितका आन्दोलन फिर्ता लिन तीन दलद्धारा गठित वार्ता टोलीले गरेको आग्रह अस्वीकार गरेको छ । सिंहदरवारमा बुधबार भएको वार्तामा तीन दलीय वार्ता टोलीले जनजीवन कष्टकर भएको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । मधेसी मोर्चाले सीमांकनमा सहमति नभएसम्म आन्दोलन फिर्ता नलिने बताएको छ । बैठकपछि मधेसी मोर्चाका नेताहरुले तीन दलीय वार्ता टोली ठोस प्रस्तावसहित आउन नसकेको बताएको छ । बैठकमा सरकारले राज्य पुर्नसंरचनाको विषयमा संघीय आयोगले दिएको प्रतिवेदनलाई राजनीतिक सहमतिको आधारमा टुंग्याउने प्रस्ताव राखेको सरकारी वार्ता टोलीका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
तर मोर्चाले भने सीमाकंनको विषयमा तत्काल टुंग्याउनु पर्ने अडान राखेको थियो। मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले कुनै माग नगरेको भन्दै तत्काल दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता लिनुपर्ने, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्नेलगायतका माग राखेको बताउनुभयो ।
बैठकमा कुनै ठोस सहमति हुन नसकेकोपछि शुक्रबार बस्ने वार्तामा सरकारी टोलीले मोर्चाका मागका विषयमा ठोस प्रस्ताव ल्याउने नेताहरुले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया