तेस्रो खिचरा महोत्सव आजदेखि सुरु , प्रजिअ सिंहले समुद्घाटन गर्ने

तेस्रो खिचरा महोत्सव–२०७२ आज (बुधबार)देखि सुरु हुँदैछ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने नारासहित पूर्वी चितवनको खैरहनी उच्च माविको प्राङगणमा आजदेखि महोत्सव सुरु हुन लागेको हो ।
महोत्सवको सबै तयारी पुरा भईसकेको महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले जनाएका छन् । महोत्सवको एक औपचारिक समारोहकाबीच चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि पर्साबजारको मगनी चोकबाट झाँकी सहितको शोभा ¥यालीले पर्सा बजार परिक्रमा गरी खैरहनी उच्च माविको चौरमा पुग्नेछ । शोभायात्राका लागि ५० औँ गाउँका सहभागीहरु व्यानरसहित उपस्थित हुनका लागि आफ्ना झाँकी समूहको नाम दर्ता गराएको शोभायात्रा व्यवस्थापन समितिका संयोजक सुनिल चौधरीले जनाएका छन् ।
खिचरा महोत्सवका लागि विभिन्न स्टलहरु लिन आउनेहरुको भीडले गर्दा महोत्सव स्थल उद्घाटनको अघिल्लो दिन नै महोत्सवमय बनेको छ । थोरै स्टलहरु मात्र बनाइएकोले स्टलका लिनका लागि आएका व्यावसायीहरु फर्काउनु परेको कुरा स्टल व्यवस्थापन समितिका संयोजक ज्ञानप्रसाद चौधरीले जनाएका छन् । अघिल्लो वर्षमा १६ वटा मात्र स्टल राखी स्टेज कार्यक्रमलाई बढी जोड दिइएको थियो । यसवर्ष ६४ वटा स्टल रहेको जनाइएको छ ।
यस वर्षदेखि छोटो समयको तयारी पछि प्रतियोगितात्मक रुपमा कृषि प्रदर्शनी परिसर राखिएको छ । प्रतियोगी कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय र पूर्वी चितवन एग्रोभेट व्यावसायी संघले पुरस्कारको सौजन्य गरेको छ ।
पर्सा बजारमा रहेका अटो व्यावसायी संघका लागि अटो परिसर राखिनेछ । महोत्सव स्थलको बीच भागमा माच र मो¥हा निर्माण गरिएको छ । मो¥हा उखेल्नका लागि जो सुकैले प्रयास गर्न पाउने छ । उखेल्न सक्ने व्यक्तिलाई तेस्रो खिचरा महोत्सवको पहलमान पुरस्कार दिइने जनाइएको छ ।
महोत्सव परिसरमा थारु समुदायहरुले आफैले बनाई प्रयोग गर्दै आएका परम्परागत तथा लोपोन्मुख सामग्रीहरुको प्रदर्शनी परिसर राखिएको छ । होटल परिसरमा थारु समुदायका विभिन्न अवसरमा खाइने परिकारहरु जस्तैः चिचर, चिचरको पोका, घोङी, हाँसको मासु, माछा, झिंगे माछा, सितुहा, नकगर रोटी लगायत आधुनिक खाजा पसलहरु रहेका छन् ।
यसवर्षको आकर्षण बाल उद्यान पनि रहनेछ । त्यसभन्दा पनि बढी आकर्षण स्टेज प्रोग्राम रहनेछ । मिलन लामा, शिव परियार, हास्य कलाकार संदीप क्षेत्री, रामचन्द्र काफ्ले, मनोज महतो, सुनिल गिरी लगायत पश्चिम नेपालका थारु कल्चर समुह जो काठमाडौंमा चम्पन साँस्कृतिक समूह भनी स्थापित भएको छ बेजोड प्रस्तुति रहने साँस्कृतिक व्यवस्थापन समितिको संयोजक जयश चौधरीले जानकारी दिए ।
यसवर्ष प्रवेश टिकट शुल्क रु २० रहने तथा विद्यार्थी सहुलियतका लागि रु १० रहेको छ । महोत्सव परिसरमा टेक्माइन्ड र क्लासिटेक नेटवर्कले फ्री वाइफाइको व्यवस्था गरेको छ ।
मुख्य प्रायोजक प्रभु म्याग्दी सुनचाँदी पसल, प्रायोजक ॐ सत्यसाईराम सुनचाँदी पसल र कालिका मोटरसाइकल पार्टस् रहेको छ भने सह प्रायोजक चौधरी पोलिक्लिनिक प्रा.लि. र टिकट सौजन्य लाहुरेनीको कुर्था तथा साडी पसल रहेको छ ।
तपाइँको प्रतिक्रिया