दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बृद्धि

६ असोज, काठमाडौं
दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार भाडा बढाउन सहमत भएको जनाईएको छ ।
व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ इन्धनको मूल्य बृद्धिका कारण रोकेका थिए ।
शनिबार भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो । भोलिबाटै सहमतिअनुसार नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
समयानुकुल भाडादर कायम गर्नको लागि २ महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।
वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।
सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।
शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।
तपाइँको प्रतिक्रिया