दसैँका लागि आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु

नेपाल राष्ट्र बैंकले दसैँका लागि आइतबारदेखि नयाँ नोट साट्न सुरु गरेको छ । नोट सटहीका लागि नेपाल राष्ट्र बैंकको कार्यालय काठमाडौंको थापाथलीमा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । यस्तै पोखरा, विराटनगर, जनकपुर, विरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा रहेका शाखा कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताउनुभयो । उहाँका अनुसार अरु विभिन्न बैंक र वित्तिय संस्थाबाट पनि कार्यालय समयमा नयाँ नोट पाउने गरी सटही गर्ने व्यवस्था मिलाइएको छ । प्रवक्ता पंगेनीका अनुसार राष्ट्र बैंकको सटही केन्द्रबाट नयाँ नोट लिन चाहनेले प्रति व्यक्ति २२ हजारसम्मको नोट साट्न सक्नेछन् । ५, १० र २० रुपैयाँका दुई दुई प्याकेट तथा ५० र एक सयका एक एक प्याकेट नोट साट्न पाउने प्रवक्ता पंगेनीले बताउनुभयो । यस्तै निजामति सेवाका तथा सुरक्षाकर्मी र निजी संघसंस्थाका कार्यरत कमचारीले कार्यालयको सिफारिस पत्र लिएर गए नयाँ नोट साट्न पाउनेछन् । यसपालिको दसैँका लागि राष्ट्र बैंकले झण्डै ५८ अर्ब रुपैयाँ नयाँ नोट छुट्टाएको छ । पोहोर ४७ अर्ब भन्दा बढी नयाँ नोट साटिएको थियो ।
तपाइँको प्रतिक्रिया