दुध आयात तत्काल नरोके नारायणीमा दुध पोखेर आन्दोलन गर्ने

चितवन, असोज ४
दुध आयात नरोके नारायणीमा दुध पोखेर आन्दोलन गर्ने चितवनका कृषकहरुले चेतावनी दिएका छन् । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएका हुन् ।
सरकारले दुध आयात गर्ने अनुमति दिएको प्रति चितवनका कृषकहरुले कडा आपत्ति जनाउँदै चेतावनी दिएका हुन् । दुग्ध उत्पादक कृषकहरुको संस्था जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनले बाहिरबाट हुने दुधको आयात तत्काल रोक्न माग समेत गरेका छन् ।
जिल्लामा ६८ हजार ६११ वटा दुधालु गाइ भैँसी छन् । चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुन्छ । कुल उत्पादित दुध मध्ये ४५ प्रतिशत काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की लगायतका जिल्लामा निर्यात हुने गर्छ ।
यसरी पछिल्लो समय चितवन दुधमा आत्मनिर्भर भइरहँदा सरकारले किसानलाई प्रोत्साहन गर्नुको सट्टा बाहिरी दुध आयातमा अनुमति दिँदा दुग्ध उत्पादक कृषक व्यवसायबाटै पलायन हुनुपर्ने बाध्यता आउन सक्ने संघका अध्यक्ष रत्नमणी न्यौपानेले बताउनुभयो । न्यौपानेले किसानको पैसा समेत नदिएर डेरी व्यवसायीहरुले विदेशी दुध आयात गर्न लागेको बताउनुभयो ।
त्यस्तै संघका जिल्ला सचिव किशोर बगालेले दुध आयातले किसानलाई मार परेको बताउनुभयो । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले समेत किसानमाथि अन्याय गरेकोले बगालेले बताउनुभयो । पत्रकार सम्मेलनमा उनले केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको दोहोरो चरित्रको समेत विरोध गर्नुभयो ।
तपाइँको प्रतिक्रिया