देबचुलीका हावाहुरी पिडितलाई राहत स्वरुप ९ लाख १२ हजार रुपैयाँ प्रदान

१५ जेठ, देबचुली
देबचुली नगरपालिकाका हावाहुरी पिडितले आज राहत स्वरुप ९ लाख १२ हजार रुपैयाँ प्राप्त गरेका छन् । गत जेठ ७ गते आएको हावाहुरीका कारण देबचुलीका बिभिन्न क्षेत्रमा पूर्ण क्षति भएका परिवारका लागी गण्डकी प्रदेश सरकारका तर्फवाट आठ लाख रुपैया र नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर संगठन कमिटिले १ लाख १२ हजार रुपैयाँ देबचुली नगरपालिका वडा नम्वर ६, ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानून मंत्री हरिवहादुर चुवानले प्रदेश सरकारवाट उपलब्ध राहत बितरण कार्यक्रमलाई सम्वोधन गर्दै प्राकृतिक बिपत्तिवाट भएको यो क्षति अत्यन्त दुःखलाग्दो भएकाले प्रदेश सरकारले यहाँको बिपत्तिमा सहयोगको पोको फुकाएको वताउनुभयो । वहाँले भन्नुभयो– यो प्रदेशले गरेको सहयोगले तपाईहरुको क्षतिको भरपाई त के गर्न सक्ला तर पनि हामी तपाईहरुको सुख दुःखमा तपाईहरुकै नजिकै छौं भन्ने महसुस गर्नुहोला ।
मंत्री चुवानले यहाँको बिपत्तिको खवर सुन्नासाथ आफु स्थलगत अनुगमनमा यसअघि आउँदा नै पूर्ण रुपमा भएको क्षतिको तुलनामा भन्दा पनि अझ बढी ब्यवसायिक रुपमा गरिएको कुखुरा पालन लगायत कृषि क्षेत्रमा ठूलो क्षति भएको बुझेर गएकाले प्रदेश सरकारको सम्वन्धित कृषि मन्त्रालयबाट कृषि क्षेत्रमा भएको क्षतिको क्षतिपुर्तिका लागी पिडितलाई मन्त्रालयमा सम्पर्क गरी राहत बुझ्न समेत आग्रह गर्नुभयो ।
राहत बितरण कार्यक्रममा प्रदेश सरकारले पूर्ण क्षति भएका ३२ परिवारका लागी प्रति परिवार २५ हजार रुपैयाका दरले सहयोग प्रदान गरेको थियो । त्यस्तै, प्रदेश सरकारको राहत बितरण लगत्तै नेकपा नगर कमिटिद्धारा संकलित १ लाख १२ हजार रुपैंया पिडितलाई प्रदान गरिएको हो । प्रति परिवार ३ हजार ५ सय रुपैंयाका दरले सहयोग प्रदान गरिएको नेकपा देबचुली नगर कमिटिले जनाएको छ ।
राहत बितरण कार्यक्रममा प्रदेश साँसद रोशन बहादुर गाहा, जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहनप्रसाद पोख्रेल, पूर्व संबिधान सभा सदस्य कृष्ण पौडेल, नेकपा केन्द्रिय सदस्य किसन गैरे, नगपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ, उपमेयर पार्बती तिवारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।
गत जेठ ७ गतेको हावाहुरीले देबचुलीको वडा नम्वर ६ मा ६ घर, ७ मा १३ घर, ८ मा ६ घर १० मा १ घर र १२ मा ६ घर गरी ३२ घरमा पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया