देशभर बाढिको वितण्डा , हेनुहोस् कुन कुन ठाँउमा के-के भयो???

११ साउन ।
पहाड चिरिएर पहिरो खस्न थालेपछि चारघर विस्थापित,,
पर्वत, बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् ।
लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने बाँकी २७ घर पनि जोखिममा परेका हुन् ।स्थानीयबासी नगेन्द्र कार्की, पदम कार्की, डेगबहादुर कार्की र रन्जित पुनको परिवार अहिले पूर्णरुपमा विस्थापित बनेको छ । उनीहरु घर छाडेर माझफाँट गाविसमै पहिलेको बस्तीभन्दा अलि पर सुरक्षित स्थानमा सरेका छन् ।
उक्त पहाडबाट खस्न लागेको पहिरोका कारण माझफाँट गाविस–९ का अन्य २० घर र बाँसखर्क गाविस–९ का २० घरपरिवार जोखिममा परेका छन् । उनीहरु रातभर जाग्राम बसेर रात कटाउने गरेका छन् । पहाडमा परेका चिराको लम्बाइ २०० मिटर, पाँचदेखि १५ मिटरसम्म गहिरो र पाँचदेखि १० मिटर चौडाइको रहेको स्थलगत निरीक्षणको टोलीले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जोखिममा परेका २७ घर परिवारलाई सुरक्षित स्थानमा सर्न वा सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले पुरिएका चार घर विस्थापित बनिसकेका छन् भने बाँकी २७ घर सङ्कटको अवस्थामा बसिरहेका छन् । उनीहरुलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । उच्च स्थानमा रहेको पहाड पूरै चिराचिरा परेर खस्न थालेपछि तत्काल नियन्त्रण गर्न समेत सकिने अवस्था नरहेको जिल्ला भूसंरक्षण कार्यालयका प्राविधिक प्रकाश बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहाडको टुप्पामा सबै ठाउँमा चिरा परेको छ, भासिएको छ र कतिपय ठाउँबाट जमिन धसिएर १० मिटरसम्म तल पुगिसकेको छ । यस्तो अवस्थामा पहाडमुनिको सयौँ हेक्टर जमिन र बस्ती निकै खतरामा परेको छ । त्यसैले उनीहरुलाई सतर्कता अपनाउन सुझाव दिइएको बस्नेतले जानकारी दिनुभएको छ ।
आकाशबाट पानी परेको दिन रातैभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय गोविन्द जिसीले जानकारी दिनुभएको छ । कतिबेला पहाडनै खसेर पुरिने हो भन्ने चिन्ताले रातभर निदाउन नसकिएको उहाँको भनाइ रहेको छ । लामो समयदेखि यस्तो समस्या रहेपनि वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि झनै कमजोर बनेको पहाड अहिलेको वर्षामा खस्न लागेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
प्युठानमा चार शव फेला, दुई बेपत्ता
प्युठान,
लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ ।
पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।
यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ ।
त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताउनुभएको छ ।
यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन् ।
त्यसैगरी, खवाङ राजवारा र अर्खा गाविसमा अहिलेसम्म एक दर्जन घरमा क्षति भएको तर मानवीय क्षतिको भने कुनै विवरण नआएको बताउनुभयो ।
झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।
नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ ।
जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ ।
गुल्मीमा पहिरोले पुरिएर पाँचको मृत्यु
गुल्मी, ११ साउन । अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ ।
यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् ।
त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ ।
बजार क्षेत्रका मानिस त्रासका कारण घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । बाढीले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ । विगत ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन् । गुल्मीको मुसिकोट गाविस र वामी गाविसबीच जोड्ने झोलुङ्गे पुल बडिगाड खोलाले बगाएको छ ।
सत्र सय घर डुबानमा, एकको मृत्यु – एक बेपत्ता
इटहरी, केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् ।
गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको बताउनुभएको छ ।
अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् । बिहान कोसी नदीमा बाढी घटेपनि अहिले पुनः बाढीको बहाव बढ्ने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
पहिरोले घर पुरिँदा बालिकाको मृत्यु
पाल्पा, गोठादी गाविस–५ दमारमा पहिराले घर पुरिँदा राति निदाइरहेका एकै घरका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तामबहादुर कनौजे तथा उनका श्रीमती र छोरी रहेको प्रहरीको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माथा प्रहरी चौकीको नेतृत्वमा घटनास्थलमा प्रहरी खटिएका छन् ।
लगातारको वर्षाले जिल्लाका अधिकांश भेगमा पहिरो गएको छ । पानी नरोकिएपछि उद्धारमा समेत समस्या देखिएको छ । जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिराले घर पुरिँदा यसअघि अस्मिता विकको मृत्यु भएको थियो ।
यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिरोले घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुने तिलोत्तमा उच्च मावि दोभानमा कक्षा ९ मा पढ्ने १४ वर्षीया अस्मिता विक रहेकी छिन् ।
राति सुतिरहेको बेला सडकमाथिको पहिरोले घर पुरिँदा च्यापिएर ज्यान गएको स्थानीय नारायण थापाले जानकारी दिनुभयो । पहिरोले तीन घर पुरिएका छन् भने अन्य चार घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।
तीन घर पूरै परिएकै अवस्थामा रहेका र अन्य चार घरमा पहिरोले गिट्टी, बालुवा र पानी भरिएको छ । पहिरोले सडक अवरुद्ध बनेपछि पाल्पा–बुटबल हिँड्ने सवारीसाधन समेत चल्न सकेका छैनन् ।
बाढीले एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबानमा
पोखरा, सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
![;Kt/Lsf] ltnf7L ahf/¬–8'afg nuftf/sf] aiff{af6 8'afgdf k/]sf] ef/tLo l;dfjtL If]q;Fu hf]l8Psf] ;Kt/Lsf] ltnf7L ahf/ . tl:a/ M c?0f ofbj, /fhlj/fh, /f;;](https://i0.wp.com/mukundasentv.com/wp-content/uploads/2016/07/ghar-duban.jpg?resize=861%2C480)
म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।
यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् । त्यस्तै, कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ ।
सो ठाउँका वलसिंह भुजेल र आसबहादुर भुजेलको घर बगाएपछि उनीहरु नजीकको दूध पोखरी माध्यमिक विद्यालयमा बसेका छन् ।
बाढीले तिनाउ नदीको झोलुङ्गे पुल पुल बग्यो,,
बुटवल, रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका –१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ ।
देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् ।
तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ ।
कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजार डुबानमा
पर्वत, सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ ।
राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् ।
डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् ।
पोखरा–बागलुङ, बेनी–मालढुङ्गा सडक अवरुद्ध
सोमबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेका छन् ।
कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे सडकमाथिको भिरबाट लेदो माटो खसेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रु बीच बाटामै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहे पनि वर्षा भइरहेकाले समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै पर्वतको नाङ्लीवाङ गाविस–९ फर्सेमा सडकमाथिबाट आएको पहिराका कारण मालढुङ्गा–बेनी सडक राति १२ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन पहल गरिए पनि वर्षा नरोकिएकाले पहिरो निरन्तर बग्दा समस्या देखिएको छ ।
अनुसन्धानका कार्यालय भत्कियो
अविरल वर्षाले सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन भत्किएको छ । कार्यालय प्रमुख विष्णु पण्डितको कार्यकक्षमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यालय भत्किँदा झन्डै रु चार लाख बराबरको क्षति भएको छ ।
कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन, टेलिफोन, टेबुल र सोफासेट लगायत सामानमा पूर्ण रुपमा क्षति पुगेको कार्यालय प्रमुख पण्डितले जानकारी दिनुभयो ।रासस
तपाइँको प्रतिक्रिया