दोस्रो राष्ट्रपति चयनका लागि निर्वाचनको मतगणना जारी

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । संसद भवन नयाँबानेश्वरमा भएको निर्वाचनको मतगणना बुधबार दिउँसो साढे २ बजेबाट सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि बुधबार बिहान ११ बजेदेखि संसद भवन बानेश्वरमा भएको गोप्य मतदान दिउँसो २ बजे सम्पन्न भएको थियो । निर्वाचनमा ५ सय ४९ मत खसेको छ । निर्वाचनमा नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङबीच प्रतिस्पर्धा छ । राष्ट्रपति चयनका लागि सांसदहरुले मतदान गरेका छन् । आन्दोलनरत मधेसी मोर्चाका सांसद भने निर्वाचनमा सहभागी भएनन् ।मतगणना सकिएपछि त्यसको परिणाम बुधबार अपराह्न पौने ५ बजे संसद सचिवालयले सभामुखसमक्ष बुझाउने छ । त्यसपछि बुधबारै बेलुकी ५ बजे बस्ने संसदको बैठकमा सभामुख ओनसरी घर्तीले मतपरिणाम घोषणा गर्ने कार्यक्रम छ ।संसदमा अहिले ५ सय ९६ जना सांसद छन् । विजयी हुनका लागि २ सय ९९ मत आवश्यक पर्छ । सत्ता गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको रुपमा अघि सारिएको हो । भण्डारीलाई एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकसहित साना दलले समर्थन गरेका छन् ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा अघि सारेका गुरुङलाई भने कांग्रेस र साना केही दलको मात्र समर्थन छ ।
तपाइँको प्रतिक्रिया