धर्मको संरक्षणमा मुस्लिम समुदायको एकता जरुरी : धर्मावलम्बी

परासी, २६ असोज । नवलपरासीमा ईस्लामीक शिक्षा र इस्लाम धर्मलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयाेिजत दशदिने मिलाद कार्यक्रम (जल्सा) सम्पन्न भएको छ । मुस्लिम समुदायको तेश्रो महान पर्व मोहर्रम (शहिदे करबला ताजिया) को अवसरमा जिल्लाको विभिन्न क्षेत्रमा संचालन हुदै आएको दशदिने मिलाद कार्यक्रम (जल्सा) सम्पन्न भएको हो ।
अरबी हिजरीको पहिलो महिना मोहर्रम ईस्लामको नयाँ वर्ष र यसै महिनामा ईस्लाम धर्मका संरक्षक धर्म गुरु ईमाम हुसैनले ईस्लाम धर्म बचाउन यजिदी कौमसंग लडाई समेत गर्नु भएकाले यसपर्वलाई मनाउन दशरोजा मिलाद कार्यक्रम आयोजना गरि मनाइएको धर्मावलम्बी मोलाना सैयद गुलाम हुसैनले बताउनु भयो । यस महिनाको १० तारिखसम्म नमाज कुरान पढने, वर्त बस्ने, मिलाद कार्यक्रम गर्ने, दानपुनः गर्ने र ताजिया बनाई दर्शन गर्ने समेत गर्ने चलन रहदै आएको सैयद हुसैनले बताउनु भयो ।
जिल्लाको ग्रामिण क्ष्ोत्रमा स्थापित विभिन्न मदरसाहरु मार्फत प्रत्येक दिन फरक फरक ठाँमा सो मिलाद कार्यक्रम आयोजना गरि ईस्लाम धर्मको विषयमा चर्चा र शिक्षा समेत प्रदान गरिदै आइएको धर्मावलम्बी मोलाना जुल्फेकारले बताउनु भयो । मोलाना जुल्फेकारका अनुसार मिलादहरुमा नमाज पढने, कुरान शरिफ पढने र ब्रत बस्ने सहि तारिका सिकाइदै धर्मको संरक्षण र संस्कृतिलाई जोगाउन मुस्लिम समुदायको एकता जरुरी रहेको बताउनु भयो । फरक फरक ठाउँहरुमा आयोजित मिलाद कार्यक्रममा मोलाना तैयब अलि, मोलाना बदरे आलम, मोलाना उमर अलि, मोलाना अलाउद्दीन अंसारी, मोलाना जुल्फेकार अंसारी, मोलाना सैयद गुलाम हुसैन र समाजसेवी युवा क्यामुद्दिन अंसारी लगायतले मन्तब्य दिदै आएका थिए ।
तपाइँको प्रतिक्रिया