कवि धर्मेन्द्र नेम्वाङका कवितामाथि चितवनमा चर्चा

लेखराम सापकोटा
११ जेष्ठ, भरतपुर
पूर्वबाट रात्रीबस चढेर शनिबार चितवन आएका कवि धर्मेन्द्र नेम्वाङले चितवनका कविमाझ कविता सुनाए । कार्यक्रममा उनले कविता मात्रै सुनाएनन् उनको हालै प्रकाशित कविता सङ्ग्रह मैले बोल्दा देशको नक्सा हल्लिन्छ माथि परिचर्चा गरियो । कार्यक्रमको सुरुवातमा डा. एकनारायण पौडेलले लेखक नेम्वाङलाई खेल खेलाए । उनले धर्मेन्द्र नेम्वाङ, बहुरङ्गबाद ननफिलोसफरको बुझाइ, हल्लेको नक्सा र प्रश्नवाचक स्वागत गरि चार वटा बुँदामा लेखकको समग्र लेखनीको व्याख्या गर्दै लेखकलाई आफ्नो भनाइ सुन्न नभएर हेर्न आग्रह गरे । डा. केशवराज चालिसेले कवि नेम्वाङको कविता सङ्ग्रहमाथि बोल्दै उनका कविता रङ्गबादको धरातलबाट उठेर माथि आएको बताए । उनका कविता समाजबाद उन्मुख पनि छन्, समीक्षक चालीसेले भने – उनका कविताले कुनै एउटा पक्षलाई मात्रै बोलेका छैनन् । उनको लेखनले बहुरङ्गबादलाई समेटेको पनि चालीसेले बताए ।
चितवन साहित्य परिषद् र वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कवि नेम्वाङले आठ वटा कविता सुनाए । पहिलो चरणमा म भनेको म नै हुँ, म छु एकजना, मैले नसकेको र राजनीतिमा गरि चार कविता सुनाएका उनले दोस्रो चरणमा पनि सिद्दार्थ ऊ दिनहुँ बुद्द भेटिबस्छ, एक दिनको विसर्जन, मुन्धुम वर्णित धर्मेन्द्रको अन्तिम प्रेम कथा र फरबरी ५ अर्थात जन्मदिन गरि कुल ८ कविता सुनाए । कार्यक्रममा कवि सुरेन्द्र अस्तफल, गणेश श्रमण, सुन्दर कुरुप, भूपिन, बालकृष्ण थपलिया र शान्ति शर्माले पनि कवि नेम्वाङका कविता प्रस्तुत गरेका थिए । नेम्वाङको कविता सङ्ग्रह `मैले बोल्दा देशको नक्सा हल्लिन्छ´ लाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो । उनको यसअघि रातो बाघ उपन्यास प्रकाशीत छ ।
तपाइँको प्रतिक्रिया