नगरप्रमुख पौडेलको पारिवारीक तथ्याकं संकलन गर्दै गैँडाकोटमा पनि जनगणनाको कार्य प्रारम्भ

गैँडाकोट, २५ कार्तिक ।
गैँडाकोट नगरपालिकामा पनि राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को गैँडाकोट नगरपालिकामा पनि औपचारिक शुरुवात गर्नुभएको हो । आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले विश्वको मानचित्रमा नेपाल कुन अवस्थामा रहेको छ भन्नेकुरा यो जनगणनाले प्रस्ट्याउने बताउनु भयो । शिक्षा रोजगार कृषि लगायतका विषयहरुको विवरणहरू प्रष्टिने हुँदा १० बर्षपछि पुनः हुनलागेको जनगणनाको ठूलो महत्व रहेको पौडेलको भनाई छ । हरेक वडामा हुने जनगणनामा पुगेर सहयोग गर्न वडाध्यक्ष हरुलाई आग्रह गर्नु भयो । नगरका नागरिकहरुलाई आफ्ना पारिवारीक विवरण दिएर गणकहरुलाई सहयोग गर्न पनि नगर प्रमुख पौडेलले आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै स्थानिय जनगणना प्रमुख देवेन्द्र गौतमले गणकहरुले संयमित हुँदै जनगणनाको फर्ममा सोधिएका सबै प्रश्नहरूको सकेसम्म यथार्थ बिवरणहरु संकलन गर्न आग्रह समेत गर्नुभयो ।
नेपालको १ सय १० वर्षे इतिहासमा अहिलेको जनगणना १२ जनगणना भएको र दुई चरणमा भैरहेको गौतमले जानकारी दिनु भयो । पहिलो चरणमा भदौ ३० गते देखि अशोज १८ गते सम्म खटिएका सुपरीवेक्षकहरुले केहि पारिवारीक विवरण तयार गरिसकेको बताउदै उहाँले व्यक्तिका यथार्थ पारिवारीक र सामाजिक विवरणहरु भर्ने काम आज बाट सुरु भएको बताउनु भयो । मंसिर ९ गते पछाडि विवरण संकलन गर्न नसकिने बताउदै जनगणनामा प्रत्यक्ष सहभागि भैदिन नगरवासिहरुलाई आग्रह गर्नु भयो ।देवचुली, बुलिङटार र गैंडाकोटको जनगणनालाई हेर्नका लागि गैंडाकोटमा जनगणना कार्यालय स्थापना गरिएको छ ।
यसै गरि गैडाकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत छविलाल सुवेदीले राष्ट्रिय जनगणना अभियान अहिले सामान्य जस्तो लागेपनि जनगणना सम्पन्न भएपछि यसको महत्व प्रष्ट हुने बताउनु भयो । यसैगरि वडा नं ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले राष्ट्रिय जनगणनामाकोही छुट्न नहुने र कोही दोहरिनु पनि नहुने बताउनु भयो ।
गैंडाकोट नगरपालिकाका १८ बटा वडाहरुमा ९७ जना गणक र २० जना सुपरिवेक्षक, देवचुली नगरपालिकाका १७ वटा वडाहरुमा ७० जना गणक र १६ जना सुपरिवेक्षक एवं बुलिङटार गाउँपालिकाका ६ वटा वडामा २१ जना गणक सहित ६ जना सुपरिवेक्षक तालिमप्राप्त कर्मचारीहरु खटाईएका छन् । गणक तथा सुपरिवेक्षकको छनोट अनलाईन आवेदन मार्फत तथ्याकं विभाग बाट भएको थियो । उनिहरुले आगामी मंसिर ९ गते भित्र पालिकाका प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावली फारममार्फत घर परिवार तथा व्यक्तिको जनसांख्यिक लगायत अन्य विवरणहरु संकलन गर्ने छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर नै प्रश्न सोध्नेछन् ।
तपाइँको प्रतिक्रिया