नयाँ संविधानको मर्म र भावना अनुरुप जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न मन्त्री राईको निर्देशन

सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधानको मर्म र भावनाअनुरुप जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ परिस्थितिअनुरुप विभिन्न योजना तथा कार्यक्रमलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याए । “अहिले हामी नयाँ संविधान जारी भएको भिन्न परिस्थितिमा छौँ, परिवर्तनको प्रत्यक्ष अनुभूति जनताले पाउने गरी सरकारी संयन्त्रले काम गर्न जरुरी छ । हाम्रा सेवा प्रवाह र कार्य सम्पादनबाट जनताले चाहना र अपेक्षा गरे अनुरुप पूरा गर्न नसके अविश्वास बढ्ने मात्र नभई बजेट योजना कार्यक्रम नै असफल हुने अवस्था आउँछ, त्यसैले हाम्रा वार्षिक बजेट र कार्यक्रमलाई नयाँ परिस्थितिमा समावेश गरी कार्यान्वयनमा सबैले हेक्का राख्नुपर्छ,”–सञ्चारमन्त्री राईले भने । चौमासिक प्रगति समीक्षामा मन्त्रालय मातहत विभिन्न निकायका विभागीय प्रमुख तथा सरोकारवाला मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।
तपाइँको प्रतिक्रिया