नवलपरासीको डेंगो प्रभावित क्षेत्र गैंडाकोट नगरपालिकामा खोज र नष्ट गर अभियान

गैंडाकोट, २५ असार,
नवलपरासीको डेंगो प्रभावित क्षेत्र गैंडाकोट नगरपालिकामा असार २६ गते आइतबार खोज र नष्ट गर अभियान सञ्चालन गरिने भएको छ । चालु आर्थिक वर्ष २०७२÷७३ मा नवलपरासीमा १२ जना डेंगोका बिरामी देखिएकोमा गैंडाकोट नगरपालिकामा मात्र आठ जना डेंगोबाट प्रभावित भएको तथ्यांक छ । शनिबार गैंडाकोटमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका भेक्टर कन्ट्रोल निरीक्षक रामचन्द्र पौडेलले सहरउन्मुख क्षेत्रहरुमा डेंगोको प्रकोप बढी देखिने बताए । औषधि छरेर लामखुट्टे नष्ट गर्न नसकिने भएकाले जनचेतना जगाउनको लागि आइतबार खोज र नष्ट गर अभियान सञ्चालन गर्ने तयारी गरेको पौडेलले बताए । नवलपरासी जिल्लाका अन्य क्षेत्रमा भन्दा गैंडाकोट क्षेत्रमा डेंगोको प्रकोप बढी देखिएकाले वर्षेनि गैंडाकोटलाई लक्षित गरि खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको पौडेलको भनाइ थियो । नवलपरासी जिल्लामा सन् २०१० देखि डेंगो देखा परेको र सन् २०१३ मा नवलपरासीमा ४० जना डेंगोको बिरामी भेटिएको पौडेलले बताए । खोज र नष्ट गर अभियान प्रभावकारी बनाउँदै गएका कारण सन् २०१३ पनि नवलपरासी जिल्लामा डेंगोका बिरामीहरु घट्दै गएको पौडेलको भनाइ छ । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगो लाग्ने भएकाले सावधानी अपनाउनु नै डेंगोबाट जोगिने मुखय उपाय भएको पौडेलले बताए । कार्यक्रममा गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले खोज र नष्ट गर अभियानमा नगरपालिकाको पूर्ण रुपमा सहयोग हुने बताए । स्थानीय महिला स्वयम्सेविका, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, पत्रकारसहितको टोलीले संयुक्त रुपमा आइतबार खोज र नष्ट गर अभियान सञ्चालन गर्दैछन् । शनिबारको अन्तरक्रियामा गैंडाकोट स्वास्थ्य चौकीका प्रमुख ईन्द्रराज शर्मा सापकोटा, राजनीतिक दलका प्रतिनिधि, महिला स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया