नवलपरासीमा एचडियु सेवा सञ्चालन भएपछि बिरामीलाई सहज

नवलपरासी,जेठ ४।
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को एक स्थानीय तहले छुट्टै भवन बनाएर एचडियु ९मिनी आइसियु० सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना सङ्क्रमित बिरामीलाई सहज भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाले चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर बीस श्ययाको आइसोलेशन सञ्चालन गरेको हो । सेन्टरमा अहिले गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ । जिल्लामा एचडियु सेवा नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा जानुपर्ने बाध्यता थियोे ।
नगरपालिकाले गत वर्षको असारमा कोभिड–१९ महामारीकै बीचमा आइसोलेशन भवन निर्माण शुरु गरेर अहिले आइसोलेशन पुनः सञ्चालनमा ल्याएको हो । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना महामारीका कारण अस्पतालहरूमा श्यया र अक्सिजन अभावमा अकालमै मृत्यृवरण र उपचारमै समस्या भोग्नु परेको बेला बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो एचडियुसहितको सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
बर्दघाटमै सञ्चालनमा रहेको सरकारी स्वामित्वको चिसापानी अस्पतालको आफ्नै जग्गा र भवन नहुँदा सञ्चालन कठिनाइ हुँदै आएको थियो । पहिलो चरणमा करीब रु ७५ लाख र दोस्रो चरणमा करीब रु २० लाखको लागतमा उक्त भवन बनाइएको हो । नगरप्रमुख बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले नयाँ भवन बनाएरै आइसोलेशन सेन्टर बनाइएको बताउनुभयो ।
उहाँले अल्पकालीन कोभिड आइसोलेशन र दीर्घकालीन रूपमा चिसापानी अस्पताल सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गरिएको जानकारी दिनुभयो । आइसोलेशन सेन्टरमा डा शान्ति केसी डा पवन अग्रहरिसहितका विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजनसहितको श्ययामा सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख माधव ज्ञवालीले बताउनुभयो ।
नगरपालिकाले सङ्क्रमितलाई आइसोलेशन र बुटवलसम्म थप उपचारका लागि जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । कोरोना सङ्क्रमितको चापलाई दृष्टिगत गर्दै बर्दघाट नगरपालिकामै रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा पनि १२ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरिएको नगरप्रमुख शर्माले बताउनुभयो ।
जिल्लामा रहेका सात स्थानीय तह र अस्पतालले १०३ श्ययाको आइसोलेशन सञ्चालन गरेका छन् । अधिकांश सेन्टरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ भने सङ्क्रमणबाट ९५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस
तपाइँको प्रतिक्रिया