नवलपरासीमा पाठ्य पुस्तक अभाव

वैशाख १७–
नवलपरासीमा पाठ्य पुस्तकको अभाव भएको छ । नवलपरासीमा कक्षा ६ र ७ का कुनै पनि पाठ्य पुस्तक अझसम्म आइ पुगेको छैन।पुस्तक व्यवसायी महासंघ नवलपरासीका अध्यक्ष देवलाल काफ्लेका अनुसार नवलपरासीमा कक्षा ६ र ७ का अहिले कुनै पनि पुस्तक उपलब्ध छैन भने कक्षा ९ र १० को ऐच्छिक विषयहरु अर्थशास्त्र र लेखा विषयको पुस्तक पाइएको छैन ।
कावासोतीको प्रकृति पुस्तक पसलका सञ्चालक गीता पराजुलीले पाठ्य पुस्तक लिन नवलपरासीको पहाडी क्षेत्र र कावासोती लगायतका क्षेत्रबाट दिनहूँ विद्यार्थी तथा अभिभावकहरु आउने गरेपनि पुस्तक छैन भन्दै फर्काउनु परेको बताए।पराजुलीका अनुसार जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक जतिपनि छ भन्दै विक्रीले ढिलो खोलेको कारण भएको पुस्तक सकिएपछि पुन प्रकाशन शुरु गर्दा पुस्तक आउन ढिलो भएको हो।
कक्षा ९ को अनिवार्य विषयहरु फेरिएका कारण पनि कक्षा नौको समेत अनिवार्य विषयको पुस्तकहरु अभाव भएको सरस्वती संस्कृतिक तथा साधारण उच्च मावि गिरुवारीका शिक्षक नरनाथ सिग्देलले बताए।कक्षा सञ्चालन भएको करिब दुई साता वित्नखोजी सक्दा समेत पुस्तक नआउंदा पठनपाठनमा समस्या भएको सिग्देलले बताए।
त्यसैगरी जीवन ज्योति उच्च माविमा पनि कक्षा सातको कम्प्युटर, कक्षा ९ को अर्थशास्त्र लगायतका पुस्तकहरु अभाव भएको जीवनज्योति उच्च माविका नि.प्रधानाध्यापक सुमित्रा लम्सालले बताईन्।लम्सालका अनुसार शिक्षामन्त्रालयले १५ गते भित्र शिक्षा उपत्यका बाहिर पुस्तक पठाइसक्ने निर्देशन दिएपनि पुस्तक आएको छैन जसले गर्दा पठनपाठनमा समस्या भएको छ।
सरकारले बैशाख ३ गते भित्र सबै पुस्तक सबै ठाउंमा पुर्याइसक्नु पर्ने भन्दै निर्देशन दिएको भए पनि जनक शिक्षा सामाग्री केन्द्रले भने ढिलो गरेको छ।नवलपरासीको पहाडी क्षेत्रमा मात्र नभई सडक क्षेत्र र सहरी क्षेत्रमा समेत पाठ्यपुस्तक अभाव भएको पुस्तक व्यवसायी महासंघ नवलपरासीका सचिव रविन्द्र न्यौपानेले बताए।
न्यौपानेले गत बर्ष प्राइभेट छापाखानालाई पनि पुस्तक छाप्न दिएको कारण पुस्तक पाउन समस्या नभए पनि यस बर्ष जनकशिक्षा सामग्री केन्द्रले मात्रै पुस्तक छाप्दा पुस्तक पाउन समस्या भएको हो।नवलपरासीमा सामुदायिक र निजी गरी ७ सय बढी विद्यालयहरु रहेका छन्। जनक शिक्षा सामग्री विक्री केन्द्र भरतपुरका मोहनकृष्ण श्रेष्ठले आफूलाई यस विषयमा नबोल्नु भनेको छ केन्द्रमा बुझ्नु भन्ने प्रतिक्रिया दिएर अन्य प्रतिक्रिया दिएनन्।
त्यसैगरी नवलपरासीमा यस बर्ष नीजि विद्यालयका केही पाठ्य पुस्तकको पनि अभाव रहेको छ । यसैबीच सरकारले पुस्तकको मूल्य घटाएको छ। यस अघि पुस्तक खरिद गरिसकेकाले विल पेश गरेर बढी मूल्य फिर्ता गर्न पाउने जनाएपनि पुस्तक पसलहरुले घटेको शुल्क फिर्ता गर्न भने तयार देखिएका छैनन् ।
तपाइँको प्रतिक्रिया