नवलपरासीमा पूर्व पश्चिम राजमार्ग सरसफाई राष्ट्रिय अभियानको थालनी

पूर्व पश्चिम राजमार्ग सरसफाई राष्ट्रिय अभियानको शुरुवात हुने भएको छ । अभियान शुरु हुने भएपछि नवलपरासीका विभिन्न स्थानहरुमा ब्यापक सरसफाई गर्न थालिएको छ । पुस ९ गते देखि शुरु हुने यो अभियानको उद्घाटन अगाडि यस क्षेत्रमा सरसफाई शुरु गरिएको कावासोती नगरपालिकाका कार्यकारी अधिकृतले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको मध्यबिन्दु स्तम्भको मर्मत र राजमार्गमा रहेका प्लाष्टिकहरु टिप्ने काम समेत भएको छ । नवलपरासीको राजमार्ग क्षेत्रका गाविस र नगरपालिकाहरु सरसफाई अभियानमा जुटेका छन् । गैंडाकोट देखि सुनवल सम्मका गाविस र नगरपालिकाहरुलाई नौ गते अगाडि नै ब्यापक सरसफाई गर्न निर्देशन गरिएको स्थानीय विकास अधिकारी बालकृष्ण शर्मा पौडेलले जानकारी दिए ।
स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयका दुई वटा टोली सरसफाई अभियानमा परिचालित हुनेछन् । पूर्वको टोलीले मेचीनगरपालिका गएर सरसफाई अभियान पुरा गर्छ भने पश्चिमको टोलीले कञ्चनपुर पुगेर अभियान सकेको जानकारी गराउने छ । अभियान पुस ९ –१६ गते सम्म चल्ने छ ।
तपाइँको प्रतिक्रिया